राष्ट्रिय गौरवको योजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण भित्र पर्ने जग्गाको मुआब्जा चलनचल्ती अनुसार नतोकिएको भन्दै खोकना, सैंबु र बुंगमति सरोकार समितिले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सरकारले विभेदकारी नीति अवलम्बन गरेर द्रुतमार्ग निमार्ण गर्न थालिएको भन्दै उचित मुआब्जा नतोकिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएको हो।
सैंबु सरोकार समितिका अध्यक्ष माधव खड्काले चलनचल्ती अनुसारको जग्गाको मूल्य नतोकिएसम्म निर्माण कार्यलाई अघि बढाउन नदिने चेतावनी दिएका छन्। अध्यक्ष खड्काले भने, ‘बरु हामी रगत दिन तयार छौँ, कुनैपनि हालतमा माटो दिदैनौँ। रसुवा जिल्ला टिमुरेको प्रतिआना जग्गाको मूल्य ६ लाख र राजधानी नजिकैको महानगरपालिका भित्रको जग्गाको मूल्य २ लाख यस्तो पनि हुन्छ? हामी राष्ट्रिय गौरवको योजनाका विरोधी होइनौं। हामी साथ दिन तयार छौँ, तर हाम्रा मागहरू सरकारले चाँडै पुरा गर्नतर्फ लागोस्, हामी सकारलाई सहयोग गछौँ।’
त्यस्तै कार्यक्रममा खोकना जनसरोकार समूहका अध्यक्ष रवीन्द्र महर्जनले प्रेस विज्ञप्ति वाचन गर्दै पीडित, गरिब र भूकम्प पीडितलाई झन अप्ठ्यारोमा पार्ने काम गरेको गुनासो पोखे। कार्यक्रममा बुङ्गमति सरोकार समितिका सचिव इन्द्र तुलाधरले द्रुतमार्ग अन्तर्गत पर्ने खोकना, संैबु र बुङमतीमा जग्गामात्रै नभएर रातो मछिन्द्रनाथ जात्रा र गुठीमा आश्रित ५० घरपरिवारको उठिबास हुने भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।