नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोलको पेटसम्बन्धी रोगले आज ७७ वर्षका उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा आज अपराह्न निधन भएको छ।
सुरुमा बयोधा अस्पताल काठमाडौँ र पछि गत शनिबारदेखि क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको थियो। उनले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहेका थिए। नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उनले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति (पहिलो पुस्तक)मा कैयौँ कला रचना गरेका कलाकार शान्तकुमार राईले जानकारी दिए।
हालै उनी र उनका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी नेपाल कला परिषद्मा सफलतापूर्वक सम्पन्न भएको थियो । उनले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरेका थिए। रासस