डच क्लब आयाक्सले पहिलो लेगमा भोगेको २–१ को पराजयलाई उल्ट्याउदै विहिबार राती (नेपाली समयअनुसार शुक्रबार बिहान) युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
डेनिस क्लब कोपेनहेगनविरुद्ध अन्तिम १६ को दोस्रो लेगको खेलमा आयाक्सले आफ्नो घरमा २–० को नतिजा निकाल्यो र समग्रमा ३–२ को अग्रता बनाउदै अन्तिम आठमा प्रवेश पायो।
आयाक्सले पहिलो हाफमै दुई गोल फर्काउदै आफ्नो जित सुनिश्चित पारेको थियो। १९९२ को च्याम्पियन क्लबका लागि २३ मिनेटमा बेरट्रान्ड ट्राउरेले हेडिङबाट पहिलो गोल गरेका थिए। प्रतिबन्धका कारण डाभी क्लासेनलाई गुमाएको यस खेलमा पहिलो हाफको निर्धारित ४५ पछि थप गरिएको ३ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई कास्पेर डोलबर्गले गोलमा परिणत गरेका थिए।
डोलबर्गको पेनाल्टी युरोपेली प्रतियोगितामा आयाक्सको ६ सय गोल थियो। डच क्लबले पहिलो लेगमा सुरुवातमा पहिलो गोलको अग्रता बनाएपनि पछि २–१ ले खेल हार्न पुगेको थियो।