तस्बिरः मनोज सत्याल
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मतपत्रमा सात ठाउँ छाप लगाउनु पर्ने भएको छ। निर्वाचन आयोगले सात लहरको मतपत्र तयार गर्दैछ। मतपत्रको देब्रेतर्फ रहेको सबैभन्दा पहिलो लहरमा मेयर वा अध्यक्षका लागि छाप लगाउनुपर्ने छ भने दोस्रो लहरमा उपमेयर वा उपाध्यक्षका लागि छाप लगाउनुपर्ने छ।
तेस्रो लहरमा वडाध्यक्षका लागि छाप लगाउनुपर्नेछ। चौथो लहरमा भने दुईवटा छाप लगाउनुपर्ने हुन्छ। यहाँ खुला दुई जना वडा सदस्यका लागि भोट हाल्ने हो। मतपत्रको दायाँपट्टी रहेको अन्तिम लहरमा पनि दुई वटा छाप लगाउन पाइन्छ। यहाँ वडा महिला सदस्य र दलित महिला सदस्यका लागि भोट हाल्नुपर्छ।
मतपत्र तीन फिटसम्म लामो हुने
निर्वाचनको मतपत्र करिब तीन फिट लामोसम्म हुने भएको छ। निर्वाचनमा भाग लिने दलहरूको संख्या धेरै भएकाले मतपत्रको आकार लामो हुने भएको हो। काठमाडौंमा स्थानीय तह निर्वाचनमा भाग लिन सबैभन्दा धेरै ४७ दलले निवेदन दिएका छन्। तराईका अधिकांश जिल्लामा ३० भन्दा धेरै दलले दर्ता गराएका छन्।
स्थानीय तह निर्वाचनमा भाग लिन भनी आयोगमा नाम नलेखाएका तर संसदमा रहेका दलले पनि निर्वाचनमा भाग लिन सक्छन्। काठमाडौंको मतपत्रमा ४७ भन्दा धेरै दल हुनसक्ने आयोगले जनाएको छ। त्यसबाहेक स्वतन्त्र उम्मेद्वारले पनि निर्वाचनमा भाग लिन्छन्। स्थानीय निकायमा स्वतन्त्र उम्मेद्वार त्यसै पनि धेरै हुने बिगतको अनुभवले देखाउछ। जति धेरैम उम्मेद्वार हुन्छन्, मतपत्रमा चुनाव चिन्हको संख्या अझै बढ्न सक्छ।
चुनाव चिन्हको संख्या जति धेरै भयो, मतपत्र त्यति नै लामो हुन्छ। काठमाडौंमा दर्ता भएका ४७ दलको मात्रै चुनाव चिन्ह राख्दा पनि मतपत्र करिब तीन फिट लामो हुन्छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्रको डिजाइन अन्तिम रूप दिने काम भइरहेको बताए।
उनका अनुसार चैत ५ गतेबाट मतपत्रको छपाइ सुरु हुनेछ। मतपत्र छपाइको जिम्मा आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ।