नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ।
सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका — मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताशी नगरपालिका, गौरादह नगरपालिका, विर्तामोड नगरपालिका र गाउँपालिकाहरुमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिका भएका छन् ।
विगतमा निकै विवाद रहेको पुनःसंरचनाको विषयमा अन्तिम समयमा सबै राजनीतिक दलको सहमतिमा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका भएका छन् । नयाँ संरचनाअनुसार झापाका आठवटा नगरपालिकामा कुल पाँचलाख ५२ हजार दुईसय चार र सातवटा गाउँपालिकामा दुईलाख ५६ हजार ३० जनसङ्ख्या भएको जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहालले बताए।
जिल्ला समन्वय समितिबाट प्राप्त सूचनाअनुसार झापामा सबैभन्दा बढी जनसङ्ख्या मेचीनगर नगरपालिकामा एकलाख ११ हजार सातसय ९७ जनसङ्ख्या र क्षेत्रफल १९२.८५ वर्ग किमी र सबैभन्दा कम कन्काई नगरपालिकामा ४० हजार एकसय ४१ र क्षेत्रफल ८०.९८ वर्ग किमी छन् ।
त्यस्तै, गाउँपालिकामा सबैभन्दा बढी कमल गाउँपालिकामा ४४ हजार तीनसय ६५ र क्षेत्रफल १०४.५७ वर्ग किमी तथा सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा २९ हजार दुईसय २३ जनसङ्ख्या र क्षेत्रफल ११७.३४ वर्ग किमी रहेको जनाइएको छ । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा ६५ हजार पाँचसय ४३ जनसङ्ख्या र क्षेत्रफल ९६.३५ वर्ग किमी रहेको छ । रासस