मापदण्डविपरीत सहरको मध्यभागमा बन्दै गरेको जगदम्बा हस्पिटालिटीको होटेल हिल्टनबारे छानबिन गर्न काठमाडौं महानगरपालिका, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले बेग्लाबेग्लै चार टोली बनाएका छन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले छानबिन थालेपछि महानगरपालिका र विभागलाई पनि होटल निर्माणका क्रममा भएको बदमासीबारे छानबिन गर्न दबाब बढेको हो ।महानगरपालिकाले ठूलो रकमको चलखेलमा हिल्टनको नक्सा पास गरेको आरोप लाग्दै आएको छ । महानगरपालिकाबाट यस क्रममा भएका अनियमितता छानबिन गर्न भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय क्षतिपूर्ति मूल्यांकन समिति गठन भएको छ । त्यस्तै, सडक विभागले मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ।
समितिमा भवन निर्माण विकास विभाग, खानेपानी, नेपाल टेलिकम, विद्युत् प्राधिकरण र नगरपालिका सदस्य थिए । सडक विभागका प्रवक्ता तथा सूचना अधिकारी दयाकान्त झाले होटल निर्माणका क्रममा भएको बदमासीका कारण सडक संरचना भास्सिएको र अन्य क्षति विवरणबारे छानबिन गर्न टोली गठन गरिएको बताए ।उनले अन्नपूर्णसँग भने, ‘अयोध्याजी संयोजकत्वको टोलीले प्रतिवेदन बुझाइसकेको छ । हामीले सडक र पेटी निर्माणका लागि धरौटी बुझिसकेका छौं ।'
टोलीका संयोजक श्रेष्ठले होटेल बनाउँदा जगदम्बा हस्पिटालिटीले मुख्य सडकबाट ६ मिटर छाडेर निर्माण गर्नुपर्नेमा सडकसँगै टाँसेर नियामक निकायलाई बेवास्ता गरेको बताए ।उनले भने, ‘मापदण्डभित्रै नपर्ने होटल निर्माणका लागि कसरी महानगरपालिकाले नक्सा पास गर्यो ? सडक पेटी जगदम्बाले अझै किन बनाएन ? हामीले जगदम्बाको ६५ लाख रुपैयाँ धरौटीमै राखेका छौं । पेटी नबनेसम्म धरौटी फिर्ता गर्दैनौं ।' उनले होटलको डिजाइन गर्ने बेलामा माटो परीक्षण नगरी हचुवामा काम गरेर जगदम्बा हस्पिटालिटीले बदमासी गरेको आरोप लगाए ।