पहिलो लेगमा २–१ ले पराजित भएको नतिजा उल्ट्याउदै इङ्लिस च्याम्पियन क्लब लेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
९ महिनाअघि आश्चर्यजनक रुपमा इङ्लिस प्रिमियर लिगको उपाधि जितेको ‘फक्सेस’ ले मंगलबार राती (नेपाली समयअनुसार बुधबार बिहान) पहिलो लेगमा पछाडि परेको नतिजा उल्ट्याउदै स्पेनिस क्लब सेभियालाई दोस्रो लेगमा २–० ले पराजित गर्यो। र, समग्रमा ३–२ गोलको अग्रता बनाउदै यो सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो इङ्लिस क्लब बन्यो।
स्पेनिस राजधानीमा तीन साताअघि २–१ ले पराजित भएको लेस्टरले इटालियन प्रशिक्षक, जसले प्रिमियर लिग जिताएका थिए, क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको थियो। प्रिमियर लिगमा ‘रेलिगेसन जोन’ को खतरा बनेपछि लेस्टरले रेनेरीलाई प्रशिक्षकबाट हटाएर क्रेग सेक्सपियरलाई क्लबको जिम्मेवारी सुम्पिएको थियो।
उनको नेतृत्वमा दोस्रो लेगको खेल खेल्न उत्रिएको लेस्टरले घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गर्यो। पहिलो हाफको २७ मिनेटमा कप्तान वेस मोर्गनको गोलबाट सुरु भएको घरेलु टोलीको विजयी अभियान गोलरक्षक केस्पर स्मेचेलले ७९ मिनेटमा सेभियाको पेनाल्टी रोकेपछि पुरा भयो।
भ्रमणकारी सेभियाले ७४ मिनेटमा आफ्नो स्टार खेलाडी समिर नास्रीलाई रातो कार्डका कारण गुमाउन पुग्यो। दोस्रो हाफमा जेमी भर्डीसँग बल खोस्न संघर्षरत नास्रीले दोस्रो पहेँलो कार्डका कारण खेल सकिन १६ मिनेटअघि मैदान छोड्नु पर्यो।
पहिलो हाफमा एक गोलले अग्रता लिएको लेस्टरले दोस्रो हाफको ५४ मिनेटमा मार्क अलब्रिटनको गोलमा दोस्रो गोल थपेको थियो।
सेभियाले ७९ मिनेटमा पेनाल्टीको अवसर पायो, जब लेस्टरका गोलरक्षक केस्पर डिबक्स भित्र भ्रमणकारी टोलीका मिडफिल्डर भिट्टलसँग जुध्न पुगे। तर, स्टेभन एनजोन्जीले हानेको पेनाल्टीलाई रोक्दै उनले इङ्लिस क्लबको जितलाई सुनिश्चित पारे।
यसअघि स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिड, जर्मनी क्लब वायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड, इटालियन क्लब युभेन्ट्स क्वाटरफाइनल प्रवेश गरेको अवस्थामा लेस्टर पहिलो इङ्लिस क्लबको रुपमा अन्तिम आठमा प्रवेश पायो।
इङ्लिस क्लब लेस्टर सन् २००५ पछि स्पेनिस क्लबसँग पहिलो लेगमा पछाडि परेको नतिजालाई उल्ट्याउदै क्वाटरफाइनल प्रवेश गरेको हो। यसअघि चेल्सीले बार्सिलोनालाई दोस्रो लेगमा उछिनेर क्वाटरफाइनलको यात्रा तय गरेको थियो।
सेभिया यो सिजनको च्याम्पियन्स लिगमा नकआउट चरणमा पेनाल्टी चुकाउने पहिलो क्लब बनेको छ। २०१४ को सिजनमा वायर्न म्युनिखले आर्सनलविरुद्ध पेनाल्टी चुकाएको थियो।