नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।
इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ ।
नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्रिया तथा भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने सो पार्टीले जनाएको छ ।
सोक्रममा डा भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्नेछन् । रासस