जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ।
धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्र के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो। केन्द्रको उद्घाटन गर्दै मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विश्वमा नै प्रदूषणको समस्या रहेको सो यन्त्रबाट धुलो र धुवाँको मात्र कहाँ कति मात्रामा छ भन्ने सजिलै थाहा पाउन सकिने बताए।
इसिमोडका महानिर्देशक डेभिड मोल्डनले नयाँ प्रविधिअनुसार नेपाल सरकारसँग मिलेर आफ्नो संस्थाले विभिन्न क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको जानकारी दिए।
इसिमोडको सहयोगमा हाल रत्नपार्क, पुल्चोक, धुलिखेल,सौराहा र लुम्बिनीमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भइसकेको छ । आजै नेपालका लागि अमेरिकी राजदूतावास, कान्तिपथ र महाराजगन्जमा पनि ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरिएको छ । इसिमोडको प्राविधिक सहयोगमा राजदूतावासमा केन्द्र निर्माण गरिएको हो ।
सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले नेपालमा वातावरणीय सहकार्यमा अमेरिकाले लामो समयदेखि साथ दिएको बताउँदै आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन्। रासस