नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको लोकप्रियता देखेर अरू पार्टीको होस अवास उडेको बताएका छन्।
मेची महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै नेपालले भने, ‘नेकपा (एमाले) को लोकप्रियताले गर्दा अरु पार्टीको होसहवास उडेको छ । निर्वाचन भयो भने एमालेले जित्छ भनेर उनीहरु डराइरहेका छन् ।’
अरु पार्टीले जातीय, क्षेत्रीय र धार्मिक विष फैलाउन खोजिरहेका आरोप लगाउँदै नेपालले एमालेले सद्भाव चाहने बताए।
मधेसी मोर्चाका गलत क्रियाकलापले गर्दा मधेसलाईनै घाटा भएको भन्दै नेपालले हिजोसम्म गुल्जार रहेको राजविराज, जनकपुर, सिरहा जस्ता सहरहरु आज सुकेका दाबी गरे। ‘पहाडी मात्र होइन, मधेसी, मुस्लिम र थारु समुदायका मानिसहरुलाई सोध्नूस्, उनीहरु नै भन्छन्, यहाँ बस्ने अवस्था छैन। भन्सारमा एक नम्बरका रहेको बीरगन्ज आज सुक्दै गएको छ।’
देशभक्तिको भावना, राष्ट्रिय एकता र सद्भाव फैलाउन आफूहरूले अभियानको आयोजना गरेको भन्दै नेपालले यसले सबैलाई आपसमा जोड्ने र आम जनतामा चेतना, जागरण पैदा गर्ने बताए।
‘सामाजिक सुरक्षाका लागि हाम्रो पार्टी सधैँ प्रतिबद्ध छ । बृद्धाबृद्धा, एकल महिला, दलित आदिका लागि सामाजिक सुरक्षाको काम हामीले नै सुरु गरेका हौँ,’ उनले भने।
मधेसका लागि विकासका काम गर्ने पार्टी एमाले मात्रै भएको भन्दै उनले तराईमा सडक, विमानस्थल बनाउने, सिचाइँ आयोजना सञ्चालन गर्ने, सदरमुकाममा ५० करोड विनियोजन गर्ने जस्ता काममा एमालेकै अगुवाइमा भएको दाबी गरे।
‘मधेसी दलका नेताहरुले मधेसलाई अधिकार दिइएन भनेर गरेको प्रचारका पछाडि लाग्नु भनेको कागले कान लग्यो भनेर आफ्नो कान छाम्नुको साटो कागका पछाडि दौडिनु हो,’ उनले भने।
नेपाली भूमिभित्र भारतीय सैनिकले गोली हानेर नेपाली नागरिकलाई मार्दा पनि भारतसँग कुरा गर्न नसक्ने लाचार सरकारका कारण हाम्रो शिर निहुरिएको नेपालले बताए। ‘मधेसी दलका नेताहरुले उल्टै भारतले मारेको छैन भनेर विदेशीको चाकडी गरिरहेका छन्। विदेशीको चाकडी गर्न लाज लाग्दैन?’ उनले आक्रोश पोखे।