भोजपुर जिल्लामा स्थानीय तह आजैदेखि कार्यान्वयन हुने भएको छ। स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ बारे सोमबार सर्वपक्षीय छलफलपछि आजदेखि स्थानीय तह कार्यन्वयनमा ल्याइने भएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिइन्।
सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर स्थानीय तह कार्यान्वयनमा ल्याए पनि भोजपुरमा आजदेखि काम थालिएको हो। भोजपुर जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका बनेका छन् भने जिविस जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ ।
नेपाल सरकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश, २०७३ को दफा १४ अनुसार नगरपालिका र गाउँपालिकामा निमित्त कार्यकारी पनि तोकिएको छ ।
भोजपुर नगरपालिकामा कृष्णबहादुर कार्की र षडानन्द नगरपालिकामा हर्षबहादुर थापा, साल्पा सिलिचुङ गाउँपालिकामा सागरमणि गौतम, अरुण गाउँपालिकामा लेखराज तिम्सिना, पौवादुङ्मा गाउँपालिकामा शालिकराम कोइराला, ट्याम्के गाउँपालिकामा सुरेशकुमार ढुङ्गेल, रामप्रसाद राई गाउँपालिकामा प्रेमकुमार शाक्य, हतुवागढीे गाउँपालिकामा गणेश प्रधान र आमचोक गाउँपालिकामा कृष्णबहादुर दाहाललाई निमित्त कार्यकारी तोकिएको हो ।
गाउँपालिका तथा तोकिएको केन्द्रमा आजैदेखि कार्यालय स्थापना गरी काम सुरु गर्नुपर्ने समेत स्थानीय विकास अधिकारी परियारले बताइन्। रासस