स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले मंगलबारबाट मतदाता शिक्षा तालिम पनि सुरु गरेको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र निर्वाचनसम्बन्धि व्यवस्थाका बारेमा जानकारी गराउने उद्धेश्यका साथ मतदाता शिक्षा तालिम सुरु गरेको हो । पहिलो चरणको मतदाता शिक्षा तालिम मंगलबारबाट काठमाडौं सुरु गरिएको हो । संवैधानिक व्यवस्था अनुसार निर्वाचनमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन र निर्वाचनमा सबैलाई भाग लिने वातावरण बनाउनका लागि मतदाता शिक्षा तालिमको सुरु गरिएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए।
आयोगले मतदाता शिक्षा तालिमलाई ३ चरणमा संचालन गर्ने कार्यक्रम पनि तय गरेको छ । पहिलो चरणको तालिम ३० जना मख्य प्रशिक्षकलाई दिईनेछ । दोस्रो चरणमा ३० जना मुख्य प्रशिक्षकले क्षेत्रीय प्रशिक्षकलाई तालिम दिनेछन । क्षेत्रीय प्रशिक्षकले जिल्ला तहलाई मतदाता शिक्षा तालिम दिइने व्यवस्था पनि मिलाइएको छ । त्यसपछि सबै जिल्ला तहले प्रशिक्षण लिएपछि आम दातादातालाई निर्वाचनबारे जानकारी गराउन २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्ने निर्वाचन आयोगको तयारी छ । चैत्रको अन्तिम सातासम्म २१ हजार मतदाता शिक्षा स्वयम सेवक परिचालन गरी निर्वाचनबारे सम्पूर्ण जानकारी दिने तयारीमा निर्वाचन आयोग जुटेको आयोगका सहसचिव ढकालले स्पष्ट पारे।
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्री, योजना र बजेटको व्यवस्था भईसकेको पनि जनाएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदानको कार्यक्रम पनि चैत्र महिना भित्रै सम्पन्न गर्ने योजना बनाएको छ । निर्वाचन आयोगले निर्वाचनको कामलाई तीव्र गतिमा अघि बढाउन सबै स्थानीय तहमा चैत्र ३ गते भित्र कर्मचारी खटाउन पनि सरकारलाई निर्देशन दिएको छ । आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पनि सबैमा आह्वान गर्दै आएको छ ।