महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सबै किसिमका प्रविधिमा महिलाको समान पहुँच सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक उपाय अवलम्बन गरेको बताएका छन्।
विश्वका महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६१ औँ बैठकको क्रममा आज न्युयोर्कमा आयोजित ‘प्रविधिबाट कार्यशैली परिवर्तनः महिलाको आर्थिक सशक्तीकरण वृद्धिमा प्रविधि र नवप्रवर्तनको उपयोग’ विषयको मन्त्रीस्तरीय गोलमेच सम्मेलनमा उनले महिलालाई आर्थिक रुपमा सशक्त तुल्याउन तथा गरिबी घटाउन, मानव विकास, सुशासनका साथै प्रभावकारी सेवा प्रवाहका निम्ति नेपालले ज्ञानमा आधारित समाज र ‘डिजिटल नेपाल’ को परिकल्पना गरेको जानकारी दिए।
राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्का त्यसअघि आयोगको उद्घाटन सत्रमा सहभागी थिए। आयोगको मुख्य बैठकलाई मन्त्री खड्काले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । रासस