चैत १५ गतेको रात। पेट भोकै थियो उनको। आफैंले पकाएको खाना थियो, तर खाने मन पटक्कै भएन। घडीले रातको १२ बजेको संकेत गरिसकेको थियो। जिउमा बेसरी थकान थियो, सुत्न ओछ्यान थियो, तर आँखामा निद्रा थिएन। दुई जना आफन्त, उनकै छेउमा हाँस्दै रक्सी खाँदै थिए। आँसुले उनको ओछ्यान भिजिसकेको थियो तर आँसु रित्तिएको थिएन।
नुवाकोटकी निरुले ८ वर्षअघि आफूमाथि दोस्रो पटक भएको बलात्कारको कथा यहाँबाट सुरु गरिन्।
अरु यौन व्यवसायी आफ्नो नाम नराखिदिनू भन्दै नाम परिवर्तन गर्न लगाउँछन्, उनले आफ्नो वास्तविक नाम नै राख्दा फरक नपर्ने बताइन्। हुन त उनले कुन पेशा अगांलेकी छन् भनेर उनको परिवारबाहेक गाउँमा प्राय सबैलाई थाहा रहेछ।
आफ्नो वास्तविक नाम यौन व्यवसाय सुरु गरेसँगै यसरी परिवर्तन भयो कि उनले अब व्यवसायले दिएको नाम चाहेर पनि भुल्न सक्दिनन् बरु वास्तविक नाम भुल्न तयार छिन्। जिन्दगीमा अनायसै भएका दुई घटनाले उनलाई अर्कै दुनियाँमा पुर्याइदिएको उनी सुनाउँछिन्।
आफूले नचाहेको बाटोतर्फ बाध्यताले धकेलिनु परेको कथा बताइरहँदा निरुको बेलाबेलामा गला अवरुद्ध भएको थियो। ‘त्यो पहिलो रात मैले नचाहँदा नचाहँदै गलत भयो, हुन त म त्यति बुझ्ने भएकी थिइनँ,’ कालो चियाको सुर्की लगाउँदै र लामो सास फेर्दै उनले भनिन्, ‘दोस्रो पटकको घटनाले मेरो जिन्दगी ठ्याक्कै उल्टो बाटोमा मोडिदियो, सायद पहिलो घटनामै नमानेको भए दोस्रो निम्तने थिएन।’
२०६५ सालमा पढ्ने र पैसा कमाउने सपनाको डोरीले निरुलाई काठमाडौं तान्यो। घर परिवारमा खान लगाउन त्यति गाह्रो भने थिएन। कक्षा ८ मा दुईपटक फेल भएर निरास हुनु र आफन्तले सहरको सपना बुनिदिनु उनका निम्ति घातक बन्यो। फुपू नाता पर्नेका छोरा घरमा आउँदा जाँदा पस्ने गर्थे। मीठो बोल्ने कहिलेकाँही काठमाडौंबाट कोसेली पनि ल्याइदिने, त्योभन्दा नजिकको साइनो निरुको परिवारमा अरु कोही थिएनन्। तिनै दाइलाई विश्वास गरेर निरु परिवारकै अनुमतिमा काठमाडौं पुगिन्।
पेसाले ट्याक्सी ड्राइभर ती दाइ काठमाडौं, बसुन्धरा बस्थे। भत्किन लागेको जस्तो घरमा एउटा सानो कोठा भाडामा लिएका रहेछन् ती दाइले। लुगाफाटो यत्रतत्र, दराज, चुलो, अनि दुई वटा खाट त्यही कोठामा अटाएका थिए। एउटा सानो फ्ल्याट भाडामा लिएको छु भनेर दाइले घरमा गफ दिएका रहेछन्। निरुले प्रश्न गर्न नपाउँदै ‘काठमाडौंमा साह्रै महँगो छ बहिनी, के गर्छेस्’ उनले सहज हुन खोजे।
कोठा जत्रो भए पनि त्यसैमा दुःखसुख बस्नुबाहेक अरु विकल्प हुने कुरै भएन। त्यही साँघुरो कोठामा दुई चार दिन बित्यो। न निरुले काम पाइन, न त दाइले काम खोजिदिए। निरु दाइका लागि खाना पकाउने अनि लुगा धुने काम गर्दै डेरामा दिनरात बितारहेकी थिइन्।
काठमाडौं आएको दोस्रो हप्तामा १३ वर्षकी निरुले नसोचेको भयो। अन्य दिन जस्तै त्यो दिन पनि दाइ अबेर राति आए। निरुले ढोका खोलिन्। त्यस दिन दाइले रक्सी खाएर आएका रहेछन्। निरु खान पस्किदिन अघि बढेकी के थिइन्, दाइले हात समातेर ताने। ‘हे, न चल्नु न दाइ, उता जानू’ भन्दै हात छुटाउन खोजिन निरुले। तर उनको केही लागेन्। दाइले अंगालोमा बाँधेर सुम्सुम्याउन थाले। निरु प्रतिकार गर्दै सानो खाट (लो बेड) तिर सरिन्। दाइ लाइट अफ गरेर निरुतिर बढे। अध्यारोमा निरु अझ बढी नर्भस भइन्।
दाइले त्यस्तो गर्ला भनेर उनले सपनामा पनि सोचेको थिइनन्। न उनले सजिलै दाइको त्यो व्यवहारलाई स्वीकार गर्न सकिन, न गुहार नै माग्न। अन्तत दाइकै जित भयो। ‘त्यस रात ममाथि ३ पटक बलात्कार भयो, ओछ्यान रगताम्य नै हुँदा पनि झम्टिन छाडेन पापीले’, उनले भावुक हुँदै थपिन्, ‘मैले आमालाई मात्र सम्झिएँ, अरु केही याद आएन।’ दाइले नै त्यस्तो गरेपछि अरु आड, भरोसाको कुनै मान्छे थिएनन् उनको। ‘न त त्यो वेला फोन थियो घरमा कुरा गर्न,’ उनले आँसु पुछ्दै भनिन्, ‘त्यो दिनपछि प्रत्येक दिन ममाथि बलात्कार भयो।’
उनले केही काम खोजेर दाइबाट टाढा बस्ने चाहेकी थिइन तर एक महिना बितिसक्दा पनि उनले काम पाइनन्। ‘दाइको त्यो व्यवहार बरु विस्तारै सामान्य लाग्दै गयो तर काम पाइनँ’, उनले भनिन्, ‘काठमाडौं खाल्टोमा कुनै काम पाइनँ मैले।’
चैत्र १५ गते बिहान दाइलाई पूजाको सामान ल्याउन निरुले आग्रह गरिन्। ‘दाइ भोलि मेरो बर्थ डे हो, बेलुका आउँदा नैवेध र अगरबत्ति ल्याइदिनू भनिन् उनले। चैत्र १६ गते उनको बर्थडे रहेछ। उनी प्रत्येक वर्ष जन्मदिनमा बिहान पूजा गर्दी रहिछन्। त्यस रात पनि सधैको जस्तो अवेर ११ बजेतिर दाइ आए तर पूजा सामगी ल्याएनन्। बरु कुखुराको मासु अनि दुई बोतल रक्सी र साथमा गाउँकै एक जना साथीसँग आएका रहेछन्।
‘निरु सन्चै छौ,’ अर्का दाईले साधे। ‘ठीकै छु’, निरुले जवाफ दिइन्। ‘तिमी कति ठूली भएकी’ अर्को संवाद। रक्सीले मातेको हुनाले निरु संवाद गर्नतर्फ लागिनन्। जे भए पनि घरतिरका दाइ, काठमाडौंमा अर्को चिनेको दाइ पाउँदा माया लाग्नु स्वभाविकै थियो। त्यसपछि निरुले मासु पकाइन्। उनीहरू रक्सी थप्दै थिए। अपशब्द प्रयोग गर्दै बोलिरहेका थिए तर निरु नसुनेजस्तै गरी खान पकाउनतिर लागिन्।
‘खान पाक्यो, खाने होइन’ निरुले प्रश्न गरिन्। ‘पख न कति हतार हो, अहिले खाम्ला’ दाइले हकारे। ‘तँलाई थाहा छ, यसले तँलाई होटलमा काम लगाइदिन्छु भनेको छ’ दाइले भने, ‘धेरै काम गर्नु पर्दैन, खानबस्न उतै हुन्छ रे।’ त्यति भनेपछि अब यो पिचास दाइबाट पनि मुक्ति पाइने भयो भनेर निरु मनमनै निकै खुसी भइन्। ‘तर यसले भनेको आज तैले मान्नुपर्छ’ दाइले फेरि कुरा थपे। के कुरा होला भनेर निरु सोचमा पर्न नपाउँदै दाइले भने ‘तँ आज यससँग सुत्नुपर्छ’। निरु झस्याङ भइन्। ‘के भनेको बौलाहा’ भनेर निरुले पहिलो पटक त्यसरी दाइलाई वचन फर्काइन्। दाइ जुरुक्कै उठेर अपशब्द प्रयोग गर्दै ‘मुख फर्काउछेस्’ भन्दै निरुलाई एक झापड हाने। निरु चुप लाग्नुभन्दा अरु केही विकल्प थिएन।
१ घण्टापछि निरु ठूलो खाटमा पल्टिएकी थिइन् तर निदाएकी थिइनन्। ‘म कुरा मिलाउँछु’ भन्दै अर्का दाइलाई आश्वासन दिँदै थिए फुपूका छोरा। ‘अहिले तँ तल सुत’ भनेर ती गाउँका युवकलाई तल सुत्न आग्रह गरे।
दाइ निरुको खाटमा पुगे। लाइट निभाए। अरु दिनकै जस्तो त्यो दिन पनि नमान्दा नमान्दै निरुले आफ्नो जोवन उनलाई सुम्पिइन्। निर्वस्त्र निरु रोइरहेकी थिइन्। त्यतिकैमा फुपूका छोराले अर्का दाइलाई पनि ‘ओइ माथि आइज ’ भनेर डाके। निरु नाइ नाइ भन्दै थिइन् तर नहुने कुरा भइहाल्यो। त्यस रात निरु सुत्नै सकिनन्। शारीरिक थकान भन्दा पनि उनको मानमा निकै ठूलो चोटले पीडा दियो।
त्यसको केही दिनपछि निरुले डान्स बारमा काम गर्न थलिन्। काम थियो वेटर। गाउँबाट दुई जोडी कुर्तामा आएकी निरुले आफूलाई डान्स बारमा काम गर्न लुगामै ठूलो लगानी गर्नु परेको सुनाइन्। ‘अब कुर्ता लगाएर भएन,’ उनले विगत कोट्याइन्, ‘लुगा लगाउन त्यहीका अरु वेटर साथीले सिकाए।’ समयको माग अनुसार विस्तारै लवाइखुवाइमा परिवर्तन आएको उनले बताइन्।
‘विस्तारै पेशा परिवर्तन गरेर अहिले यौन व्यवसायमा लागेको ५–६ वर्ष भइसक्यो,’ उनले भनिन्, ‘काठमाडौमा धेरैले चिन्छन्। त्यही भएर पोखरा आएको पनि २ वर्ष भयो, अर्को शनिबार विराटनगर जान्छौं।’ अब पोखरा नफर्किने उनले जानकारी दिइन्। ‘एउटै ठाउँमा बस्दा पुरानो भइन्छ, मागे जस्तो दाम नपाइने, त्यसैमाथि प्रहरीको आँखामा पनि परिन्छ,’ उनले थपिन्, ‘नौलो ठाउँमा नयाँ भइन्छ, दाम धेरै पर्छ अनि नगएर भयो त ?’ यो पेसाबाट उनले महिनामा कम्तिमा ५० हजार बचाउने गरेको सुनाइन्। ‘कुनै वेला एकै दिन ५ हजार पनि कमाइन्छ,’ उनले भनिन्, ‘कहिले १ हजारमात्र पर्न सक्छ।’
राम्रै कमाइ भए पनि यस्तो व्यवसायमा अरु चेली नलागून भन्ने उनको चाहना छ। ‘अहिले सोच्दा लाग्छ, मेरो जीवनमा यही हुन लेखेको थियो, अरुलाई यस्तो नपरोस्’ ३ साताअघि सृजनाचोकको एक रेष्टुरेन्टमा कुराकानीको क्रममा उनले भनिन्, ‘सबैभन्दा पहिला त घरबाट सपना बोकेर त्यो आफन्त भनौदाको विश्वासमा निक्लिनु नै गलत थियो।’ शरीर बेचेरमात्र नहुने अन्य धेरै समस्या आइपर्ने उनले बताइन्। ‘कुनै गाह्रो यस्तो हुन्छ यौन चाहना पूरा गरेपछि चुरोटले पोल्दिन्छन्, केही भन्न मिलेन, केही भन्यो भने अर्काे पटक नआउँलान् भन्ने डर,’ उनले भनिन्, ‘इच्छा नहुँदा नहुँदै उनीहरूले भनेको मान्नुपर्छ, त्यहाँभन्दा ठूलो पीडा के होला जीवनमा।’
गिरी सेतोपाटीको सहयात्री पत्रिका समाधानका पत्रकार हुन्