हमरजुङ गाविस शुक्रबारे बजारका कुलप्रसाद लिम्बूले रु एक करोडको लगानीमा पक्की घर निर्माण गरेको तीन वर्ष भयो। विसं २०५८ मा लिम्बूलाई सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा उपलब्ध गरायो। तर अहिले आएर घर बनाएको जग्गा हेमकुमारी कार्कीको नाममा दर्ता रहेको पाइएपछि लिम्बू तीनछक्क परेका छन्।
लाखौँ रुपैयाँ खर्चेर बनाएको घरको लालपुर्जा अर्कैले दाबी गर्दा लिम्बू मारमा परेका छन् । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको लापर्बाहीका कारण उहाँलाई समस्या भएको हो ।
यस्तै शुक्रबारे बजारको ऐलानी जग्गामा घर बनाउने प्रभुराम कार्कीको घर रहेको जग्गाको लालपुर्जा सोही ठाउँका कुमारी लिम्बूको नाममा रहेको पाइएको छ । सुकुम्बासी समस्या समाधान आयोगको चरम लापर्बाहीका कारण लिम्बू र कार्कीजस्ता यहाँका अन्य व्यक्तिको घर जग्गा अर्काको नाममा दर्ता भएको पाइएको छ ।
शुक्रबारे बजारको ऐलानी जग्गामा करिब ३०० घर बनेका छन् । अधिकांशले लालपुर्जा पाएका छैनन् । लालपुर्जा पाएकाको जग्गा आफ्नो नाममा छैन । विसं २०३१ फागुनमा तत्कालीन राजा वीरेन्द्र शाहको आदेशमा शुक्रबारे क्षेत्रको ऐलानी जग्गामा बजार विस्तार गर्न सुरु गरिएको शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए।
“जग्गा भोग चलन गर्ने धेरैजासोले हालसम्म लालपुर्जा पाएका छैनन्,” उनले भने। उनले लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । लालपुर्जाका लागि स्थानीयवासी काठमाडौँसम्म धाउँदै आएका छन् ।
“माग सुनवाइ हुन सकेको छैन,” पीडित अनिल आँखेवालेले भने। यस अघि गुरुप्रसाद भट्टराई अध्यक्ष रहेको आयोगले यहाँका ७० जनालाई लालपुर्जा वितरण गरेको थियो । तर एउटाले भोग चलन गरको घर जग्गा अर्कैको नाममा दर्ता गर्दा जटिलता उत्पन्न भएको छ । लालपुर्जा नहुँदा उनीहरुलाई बैंकिङ कारोबार गर्न, धितो कारोबार तथा किनबेचका लागि समस्या भएको छ ।
शुक्रबारे बजार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सुदाप, दाँगपा, ओख्रे, पञ्चकन्या, हमरजुङ, फाक्चामारा, आङ्दिमलगायत गाविसको व्यापारिक केन्द्र हो । रासस