चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन्।
गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो ।
जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिए।
सोह्र सदस्यमध्ये पाँचजनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खानलाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको छ । मण्डल परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपालमा हास्यकलाकार कुमार कट्टेल (जिग्री)ले सुरु गरेको सहयोग अभियानमार्फत एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको तण्डुकारले बताए।
नेपालका विभिन्न सञ्चारमाध्यममा गरिबीले ठगेको मण्डल परिवारका पाँचजनालाई आँखाको समस्या भएपछि परिश्रम गरेर खान र लगाउनसमेत मुस्किल भएको देखाइएको थियो । पीडित परिवारलाई थोरै भए पनि राहत होस् भन्ने अभिप्रायले अभियान चलाइएको थियो ।
रकम प्राप्त गरेपछि सोमबार नेपालका अभियानकर्ता कट्टेलले विश्वभरिबाट सहयोग आउने क्रम जारी रहेको र सहायोगी हातबाट आएको रकमले मण्डल परिवारको उपचार र गरिबी उन्मूलन कार्यमा खर्चने बताएका छन्। जापानमा सङ्कलन भएको रकम जापान मनी एक्सप्रेसबाट पठाइएको थियो । रासस