दक्षिण कोरियाली स्ट्राइकर सन हेङ–मिन चम्किएपछि टोटेनहामले एफए कपमा मिलवाललाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। टोटेनहामले ४४ वर्षपछि कुनै पनि प्रतिद्वन्दीलाई एफए कपमा यति ठूलो अन्तरले हराएको हो।
टोटेनहामको जितमा कोरियाली स्ट्राइकर मिनले हयाट्रिक पुरा गरे। उनले ४१, ५४ र निर्धारित ९० पछि थप गरिएको २ मिनेटमा आफ्नो हयाट्रिक पुरा गरेका थिए। अन्य गोल क्रिस्टियन इरिक्सनले ३१, डाले अली ७२ र भिसेन्ट जान्सनले ७९ मिनेटमा गरेका थिए।
सेमिफाइनलमा टोटेनहामले कुन टोलीसँग भिड्ने त्यसको निर्णय सोमबार राती हुनेछ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र आर्सनलबीचको विजेतासँग टोटेनहामको भेट हुनेछ।
पहिलो श्रेणीको मिलवाललाई ६–० को ठूलो अन्तरले हराउनुअघि टोटेनहामले १९७३ मा मार्गेटलाई पनि यति नै गोलअन्तरले हराएको थियो।
आइतबार रातीको खेलमा टोटेनहामले चोटका कारण आफ्नो स्टार स्ट्राइकर हेरी कानेलाई भने गुमाएको छ। इङ्लिस स्ट्राइकर त्यतिबेला घाइते भएका थिए, जब उनको प्रहार मिलवालका डिफेन्डर जाके कुपरले सात मिनेटमा रोकेका थिए।