मधेसी मोर्चाले अाफूले दिएको समयसीमाभित्र अाफ्ना माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता गरी स्थानीय निर्वाचनमा सहभागी हुन नसक्ने अडान दोहोर्याएको छ।
सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग अाइतबार बुढानिलकण्ठमा भएको भेटवार्तामा तमलोपा अध्यक्ष महन्थ ठाकुरले यस्तो अडान राखेका हुन्।
अान्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि अाफ्नो दल कांग्रेस र सरकार गम्भीर रहेको भन्दै देउवाले ठाकुरसँग सहमतिको राजनीतिक यात्रा जारी राख्न र सरकारलाई दिएको समर्थन फिर्ता नलिन अाग्रह गरेका थिए।
'कांग्रेस संविधान संशाेधन गरी निर्वाचनमा सबैलाई लिएर जान चाहन्छ। तर, संशाेधनका लागि केही समय लाग्न सक्छ, मोर्चाले सहमतिको राजनीति नतोडी सँगै अघि बढ्दा राम्रो हुन्छ,' देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले सेतोपाटीसँग भने।
देउवाले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नगरी केही समय धैर्य गर्न पनि ठाकुरसँग अाग्रह गरेको निधिले बताए।
अध्यक्ष ठाकुरले भने संविधान संशोधन मोर्चाको बटमलाइन भएको स्पष्ट पारेका थिए। सरकारले जारी गरेको स्थानीय तहको संरचना पनि त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई स्वीकार्दै निर्वाचनमा जान नसक्ने उनले बताएका थिए।
फागुन २३ मा सप्तरीमा भएको घटनाको विरोध गर्दै मोर्चाले सरकारलाई एक साताभित्र अाफ्ना ७ बुँदे माग सम्बोधन नगरे समर्थन फिर्ता लिने र अान्दोलन चर्काउने चेतावनी दिएको थियो। मोर्चाको माग सम्बोधन गरी निर्वाचनको वातावरण तयार पार्न कांग्रेस पदाधिकारी र पूर्वपदाधिकरीको शनिबारको बैठकको निर्णयअनुसार देउवाले ठाकुरसँग वार्ता गरेका हुन्। उक्त छलफलमा कांग्रेस नेता फरमुल्हा मन्सुर पनि सहभागी थिए।