राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी छोडेका छन्। उनले थापामाथि पार्टी एकता महाधिवेशन पश्चात पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् ।
साथै मन्त्रिपरिषद्मा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको उनले आरोप लगाएका छन्।
‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु,’ डा. लोहनीले बिहीबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्। यसबारे थप जानकारी उनले केही बेरमा पत्रकार सम्मेलनबाट गराउने भएका छन्।