तस्बिर: हिन्दुस्तान टाइम्स
नेपालसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बहमुततर्फ उन्मुख देखिएको छ।
अहिलेसम्मको मतपरिणामअनुसार उत्तरप्रदेशका ४ सय ३ सिटमध्ये भाजपाले ११५ सिटमा विजय हासिल गरेको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ। जारी मतगणनामा भाजपा गठवन्धन २ सय ४ सिटमा अगाडि रहेको पनि इन्डियन एक्सप्रेसले लेखेको छ।
भाजपाले जितेको सिट अखिलेश यादवको समाजवादी दलभन्दा दस गुणा बढी हो। समाजवादी दल र कंग्रेस गठवन्धनले अहिलेसम्म १३ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ। बहुजन समाज पार्टी (बिएसपी) ५ सिटमा विजयी भएको छ। बिएसपी १७ सिटमा अगाडि छ।
भारतीय सञ्चारमाध्यमहरूले उत्तरप्रदेश निर्वाचनमा भाजापाले बहमुत हासिल गर्ने घोषणा गर्न थालिसकेका छन्। गएको फेब्रुअरी र मार्च महिनामा सात चरणमा भएको उत्तरप्रदेश विधानसभा निर्वाचनको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु भएको हो। यहाँ ६० प्रतिशत मत खसेको थियो।
भाजपाले ३ सय ८४ सिटमा आफ्ना उम्मेदवार खडा गरेको थियो भने समाजवादी पार्टीले २ सय ९८ र कंग्रेसले १ सय ५ सिटमा उम्मेदवार उठाएको थियो। बहुजन समाज पार्टी भने ४ सय ३ सिटमै प्रतिस्पर्धामा थियो।
उत्तरप्रदेशाई भारतीय राजनीतिमा महत्वपूर्ण राज्यका रूपमा लिइन्छ। यहाँको जितबाट भाजपाले राज्यसभामा उल्लेखनीय सिट हासिल गर्नेछ। राज्यसभामा भाजपा अहिले पनि अल्पमतमै छ।