दुई हप्ताअघि गिरानचौरबाट ६१ जनाको टोली बर्दिवास झरेको थियो। गिरानचौर, जहाँ हामीले दोस्रो नमुना एकिकृत बस्ती बसालेका थियौं। गिरानचौरवासीहरु हामीले लगाएको गुन तिर्न होला! अहिले बनाइरहेको तेस्रो एकिकृत बस्तीका लागि श्रमदान गर्न आइपुग्नु भएको थियो।
गिरानचौरमा काम गर्दा हामीलाई श्रमदान गर्ने मानिसको ठूलो जरुरत थियो। मान्छे अपुग हुँदा सोचेको समयमा काम नसकिँदाको अवस्था देखेकाले श्रमदान गर्ने मनकारीहरुको खाँचो देखेर उहाँहरु पहाडको चिसोबाट तात्दै गरेको तराई झर्नु भएको थियो।
तालु सेक्ने घाम लाग्न थालिसकेको छ तराईमा। जुगल हिमालको चिसो हावा खाएर हुर्किएका गिरानचौरवासीलाई तराईको घामले आच्छु–आच्छु बनाएको थियो। यो कुरा म सजिलै महसुुस गर्न सक्थेँ। तर, भित्री मनमा सहयोग गर्नुपर्छ भन्ने भावना भएकाले घामको तातोलाई रोक्ने शीतलता मनभित्रैबाट निस्किरहेको थियो सायद। त्यसैले त्यो तातोमा पनि उहाँहरु शीतल भएरै काम गरेको देखेँ।
एक हप्ता घर बनाउने काममा खटिएपछि उहाँहरु विदा हुने तरखरमा हुनुहुन्थ्यो। तर, विदा हुने बेला त माहोल अर्कै पो देखियो। गिरानचौरमा ६ महिना बसेँ। यहाँको बस्तीमा दुई महिना बितिसक्यो। यस हिसाबले उहाँहरुले मलाई परिवारको सदस्यजस्तै ठान्नुभएको छ। समाजमा के भइरहेको छ, के हुनेवाला छजस्ता स–साना कुरा पनि मलाई थाहा हुन्छ। उहाँहरु सुनाउनुहुन्छ।
गिरानचौरवासी विदा हुने तरखर हुँदै गर्दा माहोल एकछिन शान्त भयो। गिरानचौरवासीले ढाका टोपी बोकेर ल्याएका रहेछन्। मुसहर समुदायकाले गम्छा किनेर ल्याएका रहेछन्। यो कुरा मलाई नै थाहा थिएन।
गिरानचौरवासीले मुसहरहरुलाई ढाका टोपी पहि¥याइदिए। मुसहरहरुले टाउकोमा गम्छा बाँधिदिए। मेरो भने टाउकोमा टोपी र गलामा गम्छा भिराइदिए।
यसरी दुई क्षेत्र र समुदायबीचको भावनात्मक एकता देख्दै गर्दा मैले एक वर्षअघिको मुसहर बस्ती सम्झिएँ।
संविधान जारी हुँदाको असन्तुष्टीलाई लिएर मधेसमा आन्दोलन चलिरहँदा सरसफाई अभियानका निम्ति हामी दोलखा हुँदै तराई झरेका थियौं। भारतीय नाकाबन्दी कायम थियो भने मधेसी मोर्चाहरुको आन्दोलन झन् कडा रुपमा चल्दै थियो। हामी यस्तै बेला मधेस बढार्ने अभियानमा थियौं।
मधेस आन्दोलन चर्किंदो थियो। पहाडे र मधेसी भन्ने शब्दले केन्द्रीय राजनीतिमा जसरी अड्डा जमाएको थियो, त्यसको भावनात्मक असर जनतासम्म झिनो रुपमै भए पनि पुग्दै थियो। यद्यपी मधेसीहरुप्रति ऐक्यवद्धता जनाउँदै पहाडेहरु समेत धोती जुलुसमा उत्रिए।
पहाडी जिल्लाबाट सुरु भएको हाम्रो अभियान तराईमा चल्दै थियो। राम्रो काम गर्दा सबैले झट्टै विश्वास गरिहाल्छन् भन्ने छैन। हामी मधेसवासीलाई फकाउँदै हात लिँदै जान्थ्यौं। सबैको घरमा पस्ने कसैलाई दिदी, कसैलाई मितदाइ त कसैलाई के–के नाता लगाएर सरसफाई अभियानमा लगाउँदै थियौं।
खुसीको कुरा त के भने, आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्तासमेत सरसफाईमा ओर्लिए।
यसैबेला हामी पुगेका थियौं, महोत्तरीको मुसहर बस्ती।
एक पत्रकार तथा अभियन्ताको अनुरोधमा हामी त्यहाँ पुगेका थियौं। मलाई त्यो बस्तीबारे उति जानकारी थिएन। त्यहाँ पुगेपछि म छक्क परेँ, हामी र मुसहरहरु बाँचिरहेको समाज कति फरक रहेछ? जहाँ, पढेलेखेको कोही छैन। जताततै फोहोरै फोहोर। शितलहर चल्ने बेला आङ ढाक्ने बाक्लो कपडा पनि छैन। दुई छाक पेटभर खान पुग्ने अन्न छैन। सफा पिउने पानी छैन। बालबालिकाहरु स्कुल गएका छैनन्। त्यो अवस्था देखेर हामी भावुक बन्यौं।
त्यसको केही समयपछि एक संस्थाको सहयोगमा हामीले दालचामल, ओढ्ने र लगाउने कपडा वितरण ग¥यौं।
त्यतिबेला पुग्दा त्यो ठाउँ अर्कै भइसकेको रहेछ। कसैले सुनाइदिएको थियो, हामीहरु देशको चर्चित कलाकार हौं। मुसहरहरुले हामीलाई कहाँ हेरुन्? जसले पेटभर खान त पाउँदैन, उसलाई कलाकारिताको के मतलब? कहाँ हेर्नु टिभी। भिडियो हेर्न मिल्ने राम्रो मोबाइल कसको हातमा हुनु?
हामीलाई चिनेका थिएनन् तर कलाकार भनेको ठूलो मान्छे हो भन्ने बुझेछन् कि कसैले भनिदियो। राहत लिएर जाँदा पहिलेका फोहोर घर सफा थिए। सुंगुरका दिसा देखिने पिँढी पोतेर चिटिक्क पारिएका थिए। नुहाएका थिए। लगाएको लुगा पहिलेभन्दा सफा देखिन्थ्यो।
हामी खाना, ओढ्नेओछ्यान दिएर फर्कियौं। कुन्जना र मबीच कुराकानी भयो, हामीले यति दिँदा यति खुसी भए उनीहरु। हामीले दिएको चामलले कति दिन उनीहरुको भोक मेट्ला र? ओढ्ने ओछ्याउने पनि केही समयपछि त फाटिहाल्छन्! उनीहरुको मनमा खुसी भर्न अरु के गर्न सकिएला?
शित चुहिने छानो फेरिदिन पाए हुन्थ्यो भन्ने लाग्यो।
त्यताबाट फर्किएको केही महिनापछि सिन्धुपाल्चोकको गिरानचौरमा बस्ती निर्माणको काम थाल्यौं। तर पनि म मुसहर बस्तीबारे चासो राखिरहन्थेँ। पत्रकार राजकरण महतो त्यहाँको जानकारी दिइरहनुहुन्थ्यो। मुसहर बस्तीमा एसएलसी पास गरेका एक मात्र युवा थिए। उनलाई हामीले पहिल्यै प्रोत्साहनस्वरुप केही रकम दिएका थियौं। पछि उनले स्कुल नगएका बालबालिकाहरुलाई ट्युसन पढाउन थाले। मुसहर बस्तीमा अर्कै चहलपहल सुरु भयो।
६ महिनामा गिरानचौरको काम फत्ते भयो। सरकारले भूकम्पपीडितका लागि काम गर्न नसकिरहेको समयमा हामीले दुई वटा बस्ती बनाइसकेका थियौं। भुइँचालोकै कारण देश–विदेशका नेपालीको साथ र सहयोग हामीलाई मिल्यो। हामीले मागेको भन्दा एक करोडभन्दा बढी रकम जुट्यो।
धेरैको प्रश्न थियो, धुर्मुस–सुन्तलीले गिरानचौरपछि के काम गर्छन्?
हामी आफैंलाई पनि यही प्रश्न थियो, हामी अब के गरौं?
मैले मुसहर बस्ती सम्झिएँ। भुइँचालोले भत्किएका सबै बस्ती बनाउन त हामी सक्दैनौं। अब केही फरक गरौं भन्ने सोचले हामीलाई मुसहर बस्तीसम्म डोहो¥यायो।
हामी पुगेपछि खानेपानी आयो। मुसहर दाजुभाइका भनाइमा तीन पुस्तापछि बल्ल पिउने पानी आइपुगेको हो।
बस्ती निर्माणको काम सुरु भएपछि मुसहर बस्ती बेग्लै बन्न थालिसकेको छ। बालबालिकाहरु नियमित स्कुल जान्छन्। रक्सी खाएर बर्वाद हुने समय काममा लगाउनुहुन्छ। एकत्रित भएर काम गर्दा रमाइलो हुने रहेछ भन्ने बुझेर होला। नयाँ मान्छे आउँदा लाज र डरले कुना पस्ने महिलाहरु अहिले नयाँ मान्छेलाई स्वागत गर्न बाटोसम्म आइपुग्नहुन्छ। नेपाली भाषा बोल्नै नजान्ने उहाँहरु नेपाली बोल्न सक्ने हुनुभइसकेको छन्। मतलब, अर्को समाजका कुरा थाहा हुँदैछ। यसले अर्को समाजसँग अन्तक्र्रिया गराउँछ। चेतनशील र गतिशीलताका लागि यसले महत्वपूर्ण भूमिका निभाउँछ भन्ने लाग्छ।
यसै महिना उनीहरुले बेग्लै भूगोल, बेग्लै सँस्कृति, बेग्लै अनुहार भएका मानिसहरु भेटे। सँगै मिलेर काम गरे। सँगै खाए। एक–अर्काका कुरा साटासाट गरे। गिरानचौरवासीहरुले मिलेर काम गर्दाको महत्व बुझाए।
एक हप्ता सँगै काम गरेपछि विदा हुनै लाग्दा मायाको चिनो साटासाट गरे। गिरानचौरवासी फर्किने बेला हामीले एक–अर्कासँग अंकमाल ग¥यौं। म भावुक भएँ। मैले उनीहरुले मेरो गलामा लगाइदिएको गम्छा र शिरको ढाका टोपी हेरेँ। यो पहाड र मधेसबीचको सद्भावको संकेत थियो।
खासमा हामीले चाहेको यही त हो।
घर बनाउनु त एउटा बिम्ब मात्र हो। हामीले फरक भूगोल, सँस्कृतिका मानिसहरुको मन–मन जोड्न चाहेका थियौं।
गिरानचौरमा काम गर्दा अगाडि देखिने हिमाल र चिसो सिरेटोले शीतल दिन्थ्यो। मुसहर बस्तीमा त्यस्तो छैन। वरिपरि बाक्ला रुख छैनन्। तालु सेक्ने घाम, लामा सुँड भएका लामखुट्टेको दुःख तब भुलिन्छ, जब हामीले गर्न खोजेको काम सही दिशामा हिँडिरहेको पाउँछौं। हामी सही दिशामा हिँडेका छौं र सही नतिजा हात पर्दैछ।
अब जम्माजम्मी एक महिना बाँकी छ हामीसँग। जति खर्च लाग्छ, त्यति रकम उठिसकेको छैन। छानो नछाउन्जेल भनेको समयमा घर हस्तान्तरण गर्न नसकिने पो हो कि भन्ने चिन्ता थियो। जब छानो लाग्यो, करिब ७५ प्रतिशत काम सकिए पनि घर ठडियो भन्ने लागेको छ।
जुन दिन हामीले मुसहर बस्ती हस्तान्तरण गर्छौं, त्यसदिन नयाँ वर्ष मात्र सुरु हुनेछैन। धुर्मुस–सुन्तलीको खातामा खुसीको एक नयाँ अध्याय पनि लेखिनेछ! एकिकृत बस्ती निर्माणमा हामीले ह्याट्रिक गर्नेछौं।हामी खुसी हुने कुरा त छँदैछ, हिमाल-पहाड-तराई जोड्ने हाम्रो अभियान माथिल्लो चरणमा पुग्नेछ। हरेक जनताले चाहेको एकता मिल्दाको खुसीमा हाम्रो खुसी दोब्बर हुनेछ।
(कुराकानीमा आधारित)