श्रीमान्को बिछोडपछि छोरो हुर्काउन ६ दिनकी सुत्केरी सुनिता परियार गाउँलेको सहारामा बस्न विवश छिन्।
पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं १२ (साविक जगतपुर ९) की सुनिताको कच्ची झुप्रोमा ढोका छैन। नयाँ घर बनाउन पैसा छैन। कमाउने श्रीमान् राजु विक सात महिना अघि नै रहस्यमय रुपमा बिते। श्रीमान् सम्झिँदा मन थाम्नै सक्दिनन् उनी।
वृद्ध ससुरा टेकलाल पैसा पाए रक्सी खाएर सक्छन्। घर बनाउन नसक्दा श्रीमान् बितेदेखि नै सानीआमा मनबुजाको घरमा बस्दैआएकी सुनिता परिवार पाल्न गाउँबाटै सहयोग जुटाउनु पर्ने बाध्यतामा छिन्।
चार सन्तानकी आमा २२ वर्षीया सुनिता बिहीबार ६ दिनकी सुत्केरी थिइन्। तीन छोरी लगातार पाएपछि फागुन २० गते छोरो जन्माइन्।
श्रीमान्ले छाडेर गए पनि नासो हुर्कँदै त छ तर कष्टकर अवस्थामा छिन् सुनिता र भन्छिन्, ‘गाउँलेले दिएर खान पाएको छु।’
श्रीमान् बित्दा उनको दुई महिनाको गर्भ थियो। पाँच महिना गर्भ हुँदासम्म गाउँमा ज्याला मजदुरीको काम गर्न गइन्। त्यसपछि अहिलेसम्म उनलाई गाउँलेले कहिले अन्न त कहिले मासु, कहिले नगद नै पैसा दिएर उनीहरुको गर्जो टर्दै आइरहेका छन्। गाउँका रैमती गुरुङ, लीला श्रेष्ठ, जानुका विकलगायत उनको सहयोगमा जुटेका छन्।
छुट्टिएर बसेका देवर मनबहादुरले सहयोग नगरेका पनि होइन तर सधैं पुग्दैन। घरमा अन्न उब्जने जग्गा छैन। ऐलानी जग्गामा बसेका छन्।
बिहे भएको ७ वर्ष भयो। जेठी छोरी ६ वर्षकी अस्मिता कक्षा १ मा र माइली ४ वर्षकी रेजिना शिशु कक्षामा पढ्छिन। कान्छी १ वर्षकी सुप्रिया छिन्। अहिलेको छोरा आज सात दिनको भयो।
गएको साउन १ गतेको कुरा हो। कुल्ली काम गर्ने गरेका श्रीमान् राजु विक घरबाट साइकल लिएर निस्किए। साहुबाट पैसा लिनुछ भन्दै गएका उनी सुसुराली पुगे। त्यसपछि केही दिन आएनन्। परिवारले पनि ससुराली मै होला भनेर वास्ता गरेनन्।
हराएको थाहा पाएपछि खोजी गरियो। चितवनको मेघौली विमानस्थल पछाडि झाडीमा उनको शव ४ दिनपछि फेला प¥यो। गन्हाएको अवस्थामा भेटिएको उनको टाउकामा सामान्य घाउ थियो।
‘मरेको होइन, कसैले मारेकै हो,’ सुत्केरी सुनिताले भक्कानिँदै भनिन् – ‘अहिलेसम्म कसले मा¥यो केही पत्ता लगाउन सकिएन।’
‘प्रहरीमा जाँदा कसैले वास्तै गरेनन्, अस्पतालमा पोष्टमोर्टम रिपोर्ट खोज्दा काठमाडौ जानुपर्छ भने’ ९ आँसु पुछ्दै सुनिताले भनिन्। घरको एक मात्रै सहारा राजु दुई महिनाको गर्भ छाडेर सदाका लागि गए। उनको नासो हुर्काउन अहिले सुनितालाई ठूलै सकस छ। अरु तीन बालिकालाई हुर्काउने र सासूससुरा हेर्ने बोझ पनि उनी माथि नै छ।
कमाउने मान्छे घरमा नभएपछि उनी अहिले बिलखबन्धमा छिन्। कसैले पैसा दिन्छन्। कसैले अन्न दिन्छन् त कसैले लत्ताकपडा र मासु दिन्छन्। यसैगरी त्यो परिवारको दैनिकी चलिरहेको छ। सधै गाउँलेले दिन सक्दैनन्। ‘ती बालबालिकालाई कसैले हेरिदिए केही राहत हुन्थ्यो,’ उनकी नन्द लक्ष्मी भन्छिन्।
अहिले गाउँलेको सहारामा उनको परिवार पालिँदै आइएको छ। तर दीर्घकालसम्म ती बालबच्चाको पालनपोषण र शिक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छिमेकी लीला श्रेष्ठ बताउँछिन्।
उनकै पहलमा सुत्केरीलाई केही ठाउँबाट आर्थिक सहयोग मिलेको भएपनि दीर्घकालीन स्रोत जुटेको छैन। रासस