डोल्पामा आज बिहानैदेखि हिमपात सुरु भएको छ।
गत बुधबारदेखिको लगातार वर्षापछि जिल्लाभर हिमपात सुरु भएको हो। वर्षासँगैको भारी हिमपातले बढेको अत्यधिक चिसोका कारण डोल्पालीको दैनिकी कष्टकर बनेको छ। डोल्पामा हिमपात अहिले पनि जारी रहेको छ।
झन्डै तीन महिनाको चरम खडेरीपछि परेको वर्षासँगैको भारी हिमपातले कृषिजन्य उत्पादनमा वृद्धि हुने आशामा डोल्पाली कृषकमा उत्साह छाएको छ।
वर्षा र हिमपातले यसवर्षको कृषिजन्य उत्पादनमा समेत वृद्धि हुने भन्दै उनीहरुमा उत्साह छाएको हो। त्रिपुराकोट–२ का कृषक भीमप्रसाद देवकोटाका अनुसार लम्बिँदो खडेरीले खेतबारीका अन्नबाली सुक्न थालेको थियो।
खाद्यवस्तु उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका थिए तर ढिलै भए पनि वर्षा भएको छ, यसबाट गरिखाने कृषकलाई केही भए पनि राहत भयो – उनले भने। यस पटकको वर्षासँगैको हिमपातले उत्पादन परिमाणमा समेत १० प्रतिशतले वृद्धि हुने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।
कृषि विकास कार्यालय डोल्पाकाअनुसार पानी परेपछि जेठदेखि असारसम्ममा पाक्ने गरी खेतबारीमा लगाइएको, जौ, गहँु, उवा, आलुलगायतका अन्नबालीको उत्पादनमा वृद्धि हुने छ। यहाँ उत्पादन हुने स्याउ, ओखर उत्पादनसमेत राम्रो भए पनि ढकमक्क फुलेको आरुलाई भने असर गर्ने कृषि विकास कार्यालय, डोल्पाका प्राविधिक सहायक सम्पती बुढाले जानकारी दिए।
कर्णालीमै स्याउ, ओखर, आरुलगायत फलफूल उत्पादनमा डोल्पा पकेट क्षेत्रका रुपमा चिनिन्छ। लामो समयसम्मको खडेरीले पशु चरन क्षेत्र पनि सुकेको थियो। जसकारण पशुपालक कृषकलाई ठूलो समस्या उत्पन्न भएको थियो। तर पानीसंगै परेको हिमपातका कारण वनपाखामा घाँसपात प्रशस्तै पलाउने भएकाले पशुपालक कृषकमा झनै उत्साह छाएको छ। डोल्पामा मुख्य आयआर्जनको स्रोतमध्ये पशुपालन पनि एक हो।
यार्सागुम्बा परिमाण तथा गुणस्तरमा वृद्धिः
यसपालिको भारी हिमपातले डोल्पामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको परिमाण तथा गुणस्तरमा समेत वृद्धि हुने जिल्ला वन कार्यालय, डोल्पाले जनाएको छ।
यहाँ यार्सागुम्बा पाइने पाटनहरु मात्र ३०० भन्दा बढी रहेका छन्। ती पाटनमा वर्षमा हजारौँ किलो यार्सागुम्बा सङ्कलन गरिन्छ। बहुमूल्य जडीबुटी यार्सागुम्बा उच्च हिमाली क्षेत्रका तीन हजार ५०० देखि चार हजार मिटरसम्मको उचाइमा पाइने भएकाले यसका लागि अत्यधिक चिसो र समयमै हिमापात आवश्यक पर्ने वन कार्यालयले जनाइएको छ।
यस वर्ष समयमै भारी हिमपात र वर्षा भएकाले तुलनात्मक रुपमा यार्सागुम्बा धेरै पाइने स्थानीय यार्सा सङ्कलकको दाबी छ। यार्सागुम्बा सङ्कलनका लागि बर्सेनि हजारौँ सर्वसाधारण डोल्पाका यार्सागुम्बा पाटनमा पुग्ने गर्छन्। रासस