चितवन राष्ट्रिय निकुञ्जभित्र अग्निरेखा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस सँगसँगै घाँसे मैदानका लागि नियन्त्रित आगोसमेत लगाउन थालिएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार पूरै निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार अग्निरेखा निर्माण गरिन्छ। यकिन क्षेत्रफल थाहा नहुने भए पनि २५० किलोमिटरभन्दा बढी क्षेत्रमा अग्निरेखा निर्माण गरिने उनले बताए।
पाँच मिटरको हाराहारीको चौडाइमा रहेका घाँस पातपतिङ्गर हटाएर दुई क्षेत्रमा विभाजन गर्ने काम नै अग्निरेखा हो । जसले एकापट्टि क्षेत्रमा आगलागी हुँदा सो आगो अर्को क्षेत्रमा जान दिँदैन । जसले गर्दा एकातर्फ आगो लाग्दा वन्यजन्तु अर्कोतर्फ गएर बस्न र चर्न पाउने अर्यालले बताए। घाँसे मैदान व्यवस्थापन गर्नका लागि कतिपय ठाउँमा निकुञ्ज आफैंले नियन्त्रित आगो लगाउँछ भने कतिपय क्षेत्रमा आफैं आगो लाग्ने गर्दछ । अग्निरेखा निर्माण कार्य माघको पहिलो सातावाट सुरु गरिएकामा यो महिनाको मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निकुञ्जले राखेको छ ।
वन क्षेत्रको अवस्था हेरेर अग्निरेखा निर्माण गर्ने क्षेत्र तय गरिन्छ । एउटा अग्निरेखाबाट अर्को अग्निरेखाको दूरी वनको अवस्थामा निर्भर हुने उनले बताए।
नदी तटीय क्षेत्रमा जोखिम कम हुने हुँदा एउटाबाट अर्को अग्निरेखाको दूरी लामो हुन सक्छ भने साल र मिश्रित वनमा दूरी कम हुने अर्यालले बता यद्यपि निकुञ्जको बीचमा खोलानाला भएको ठाउँमा अग्निरेखा जरुरत हुँदैन । राम्रो घाँसे मैदान निर्माणका लागि आगो लगाउनु अति आवश्यक हुन्छ । अग्निरेखा अन्तिम चरणमा पुग्दै गर्दा घाँसे मैदान व्यवस्थापनका लागि आगो लगाउने कार्य तीव्र गतिमा अघि बढेको निकुञ्जले जनाएको छ । रासस