खोटाङको दिक्तेल इग्लिस बोर्डिङ स्कुलले जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक प्रदान गरेको छ।
विसं २०४८ मा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा जिल्ला कारागारका कैदीबन्दीका लागि २१ हजार रुपैयाँ बराबरको पुस्तक प्रदान गरेको हो।
कारागार परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले कारागार शाखाका प्रमुख चित्राखर आचार्यलाई पुस्तक हस्तान्तरण गरे। स्थापना भएको २५ वर्ष पुगेको अवसरमा विद्यालयले बुधबार ४६ थान पुस्तक हस्तान्तरण गरेको हो ।
कैदीबन्दीको ज्ञान र चेतना अभिवृद्धिका लागि कारागारलाई पुस्तक प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष नुरकाजी सैंजूले बताए। स्कुलसँगै दिक्तेलस्थित सैंजू पुस्तक पसलले पनि कारागारलाई २४ थान पुस्तक हस्तान्तरण गरेको छ ।
गत सोमबारदेखि विभिन्न कार्यक्रम गर्दै रजत जयन्ती मनाउन सुरु गरेको स्कुलले जिल्ला अस्पताललाई १५ थान ब्ल्याङ्केट पनि प्रदान गरेको छ । रजत जयन्तीका विभिन्न कार्यक्रम गर्दै शनिबार समापन गर्ने कार्यक्रम रहेको रजत जयन्ती प्रचारप्रसार समितिका संयोजक धनकर्ण श्रेष्ठले बताए। रासस