दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको रियल म्याड्रिडले नेपोली क्लबलाई उसैको घरमा ३–१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
डिफेन्डिङ च्याम्पियन म्याड्रिडको जितमा कप्तान तथा डिफेन्डर सर्जियो रामोस र जर्मनी मिडफिल्डर टोनी क्रुज नायक बने।
पहिलो हाफको खेलमा एक गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै दोस्रो हाफमा क्रुजले गोलका लागि दुई सुन्दर अवसर निकाले, जसमा दुवै गोल रामोसले हेडिङद्धारा गरे। एक गोल करिम बेन्जेमाको स्थानमा ७६ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका अल्भारो मोराटाको नाममा रहयो।
नेपोली आफ्नो घरेलु मैदानमा यस सिजन १८ खेलमा अपराजित थियो। यस्तो अवस्थामा बुधबार बिहान सम्पन्न खेलमा म्याड्रिडलाई च्याम्पियन्स लिगको नकआउट चरणको दोस्रो लेगमा इटालियन क्लबबाट ठूलै चुनौतीको सामना गर्नु पर्ने निश्चित जस्तै थियो।
२४ मिनेटमा म्याड्रिडको रक्षापंक्ती तोड्दै बेल्जियमका स्ट्राइकर ड्राइएस मेर्टेन्सले घरेलु टोलीलाई अग्रता दिलाए। घरेलु लिगमा यो सिजन २३ गोल गरिसकेका मेर्टेन्सले डिबक्समा पेपेको सामान्य गल्तीको फाइदा उठाउदै गोल गरेका थिए।
नेपोलीको अग्रतालाई २९ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रोक्ने प्रयास गरेका थिए। तर, उनको प्रहार नेपोली क्लबको गोल पोस्टमा लागेर फर्किएपछि म्याड्रिडलाई पहिलो हाफमा खेलमा फर्किन गाह्रो पर्यो।
तर, पहिलो हाफमा १–० ले पछाडि परेको अवस्थालाई म्याड्रिडले उल्ट्यायो र दोस्रो हाफमा तीन गोल ठोक्यो। खेलको ५१ मिनेटमा क्रुजको कर्नर किकमा रामोसले आफ्नो ‘ट्रेडमार्क’ हेडिङ गोल गरे। म्याड्रिडले यसको ५ मिनेटपछि नै अर्को कर्नरको अवसर पाएको थियो। जसलाई क्रुजले नै प्रहार गरेका थिए, जुन पुनः रामोसले हेडिङमार्फत गोलमा परिणत गरेका थिए। रामोसले दोस्रो हाफको ११ मिनेटमा आफ्नो टोलीलाई २–१ गोलले अग्रता दिलाएका थिए।
११ पल्टको च्याम्पियन क्लबलाई निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा अल्भारो माराटाले तेस्रो गोलको सफलता दिलाए।