राष्ट्रिय मानव अधिकार आयोगले ०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको घटनामा सशस्त्र प्रहरीबलाका तत्कालीन क्षेत्रीय प्रमुखलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले प्रहरी संगठनहरुबीच आपसमा असहयोग र समन्वय नभएको, फितलो सुरक्षा योजना र लापरबाहीका कारण टीकापुर घटना भएको तर सुरक्षाकर्मीतर्फको ठूलो क्षति रोक्न समुचित प्रयास नगरको भन्दै सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक खडानन्द चौधरी र उपरीक्षक लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाहीका लागि सिफारिश गरेको हो।
त्यस्तै आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकुमार श्रेष्ठ, इलाका प्रशासन कार्यालय टीकापुरका प्रशासकीय अधिकृत सुमन धिताल मानव अधिकार उलंघनमा संलग्न भएकाले उनीहरुलाई सचेत गराउन सिफारिश गरेको छ।
नेताहरुको उत्तेजक भाषणका कारण टीकापुर घटनाको पृष्ठभूमि तयार भएको आयोगको निष्कर्ष छ। आयोगले भदौ ७ गते र त्यसपछि भएको भौतिक क्षतिका आधारमा पीडितलाई क्षतिपूर्ति दिन पनि सिफारिश गरेको छ।
०७२ भदौ ७ गते टीकापुरमा थरुहट पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। घटनाको करिब डेढ वर्षपछि आयोगले सिफारिश गरेको हो।