नेकपा एमालेले सप्तरीको कार्यक्रममा आफ्ना पार्टीका शीर्ष नेताहरुको सामुहीक हत्या गर्ने योजना रहेको ठहर गरेको छ। गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार कार्यक्रम सकेर राजमार्ग तर्फ जाने क्रममा घेरा हालि सामुहीक हत्याको प्रयास भएको एमालेले दाबी गरेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष भीम रावलले एमालेको कार्यक्रमस्थल वरपर पेट्रोल बमसमेत प्रहार गरिएको भन्दै आफूहरूले संयम नअपनाएको भए अझै ठूलो घट्ना हुने बताए।
घट्ना घटाउनकै लागि मोर्चाका कार्यकर्ताहरुले कार्यक्रमस्थल बाहिर सुरक्षाकर्मीलाई ढुंगा हान्ने, गाली गलौज गर्नेलगायतका अमर्यादित कामसमेत गरेको एमालेले ठहर छ।
घट्नाको सत्य तथ्य छानबिनका लागि सरकार र मानअधिकार आयोगसँग एमलेले मागसमेत गरेको छ। पत्रकार सम्मेलनपछि एक विज्ञप्ति जारी गर्दै तराई मधेशमा फैलाइएका भ्रम एमालेको जारी अभियानले चिर्छ भनेर अत्तालीएर राजविराज घटना मञ्चन गरिएको आरोप लगाएको छ।
घटनाको जिम्मेवारी संघीय लोकतान्त्रिक मधेशी मोर्चाले लिनुपर्ने भन्दै एमालेले सरकार र गृह मन्त्रालय पनि यसका लागि जिम्मेवार रहेको ठहर गरेको छ।
मोर्चाको आक्रमणबाट आफ्ना कार्यकर्तासमेत घाइते भएको र कार्यक्रममा प्रयोग गरिएका गाडी र मोटरसाइकल तोडफोड भएको जनाएको छ।
यसैबीच सुरक्षा निकायले सप्तरी घटनामा संयमता अपनाएको भन्दै एमालेले सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाउनुले थप शंका उत्पन्न भएको बताएको छ। निर्वाचनको वातावरणलाई बिथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरुबिच द्धन्द्व बढाउने षड्यन्त्रका साथ घटना घटाइएको एमालेले दाबी गरेको छ। कुनै पनि बहानामा निर्वाचनका कार्यक्रमहरु प्रभावित हुन नहुने भन्दै एमालेले बेलैमा सचेत हुन आग्रहसमेत गरेको छ।
आफ्नो पार्टीको कार्यक्रमलाई बिथोल्न मोर्चाले घोषित रूपै नीति लिएकोले सप्तरीमा भएको मानवीयलगायतका सबै क्षतिको जिम्मा मोर्चाले नै लिनुपर्ने एमालेले बताएको छ।
मधेशी मोर्चाले सिर्जना गरेको आतंकपूर्ण र अराजक स्थितिमा पनि सुरक्षाको स्थिति बनाई राख्न अथक प्रयत्न गरेको भन्दै एमालेले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएको छ। एमाले सचिव योगेश भट्टराईले सप्तरीमा एमाले बुद्ध बनेर गएको र फर्किदा झन बलीयो बुद्ध बनेको बताए।
सम्भावित घटनाबारे गृहमन्त्री जानकार थिएः रावल
एमाले उपाध्यक्ष भीम रावलले सप्तरीमा भएका जस्ता घट्नाहरुको पूर्व जानकारी गृह मन्त्रालयलाई आउने बताए। ‘यस्ता घट्नाहरुको पूर्व जानकारी सरकारले राखेको हुन्छ,’ पूर्व गृहमन्त्रीसमेत रहेका रावलले भने,‘त्यसैले यसको जिम्मेवारी पनि सरकारले लिनुपर्छ।’
जिल्लामा अपरिचित मान्छेहरू कति आएका छन् भन्ने जानकारी प्रशासन मार्फत सरकारलाई रहने भन्दै उनले सरकारले चाहेको भए यस्ता घटनालाई रोक्न सक्ने दाबीसमेत गरे।
गृहमन्त्रीले नै एमालेका क्रियाकलापको प्रतिवाद गर्नुपर्छ भनेको कारणले नै सप्तरी घटनालाई बल पुगेको उनले ठम्याइ छ।
हाम्रो कार्यक्रम जारी रहन्छः पोखरेल
पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले तराई मधेशका कार्यक्रम केही दिनका लागि स्थगित मात्रै गरिएको बताए। जेठ २७ गतेदेखिको अभियान यथावत रहने भन्दै उनले दुई नम्बर प्रदेशका बाँकी कार्यक्रम केही समयपछि गर्ने बताए।
‘राजनीतिक अभियान गरेर हामीले हाम्रा अधिकार प्रयोग गरेका हौ,’ उनले भने, ‘एमालेलाई जिल्लामा खाली गराउने भनिएको छ तर एमाले पछि हट्दैन।’ नयाँ खालको द्धन्दको सिर्जना गर्नका लागि एमालेमाथि प्रहार गरिएको उनले बताए ।