पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले वेष्ट इन्डिजको आसन्न टेस्ट शृंखलाका लागि मिसबाह उल–हकलाई नै टेस्ट टिमको कप्तान बनाउने घोषणा गरेको छ।
यसअघि उनको क्रिकेट भविष्यलाई लिएर थुप्रै अनिश्चितता बनेको थियो। अस्ट्रेलियाबाट फर्किएपछि उनले आफ्नो सन्यासको विषयमा छिट्टै घोषणा गर्ने बताएका थिए। तर, पिसिबीले वेष्ट इन्डिज भ्रमणका लागि उनलाई नै कप्तान बनाउने सार्वजनिक गरेपछि सबै अनिश्चितता समाप्त भएको छ।
पाकिस्तानले क्यारेबियन भ्रमणमा तीन टेस्ट खेल्दैछ। ४२ वर्षीय मिसबाहले वेष्ट इन्डिज भ्रमणका लागि आफू उपलब्ध हुने जानकारी पिसिबीलाई दिएपछि बोर्डले उनलाई नै कप्तान बनाउने निर्णय गरेको हो।
पाकिस्तान र वेष्ट इन्डिजबीचको टेस्ट शृंखला ३१ मार्चदेखि सुरु हुँदैछ।