नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरूवामा मोर्चाको बिरोधबिच कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लालबाबु पण्डित र भगवती चौधरीले बोलेका थिए। कार्यक्रममा बोल्दै पण्डितले दुई नम्बर प्रदेशका युवा सबैभन्दा बढी विदेश गएको भन्दै ती युवाहरू पहिचान खोज्न नभई सामर्थ्य खोज्न गएको बताए।
‘संविधान च्यात्ने र जलाउनेलाई हामी छोड्दैनौ। यहाँ आतंक चल्दैन। यो बुद्धको देश हो।आतंक चाहनेहरू चम्वल जाउ।’
संविधानले सबैलाई समेटेको भन्दै एमाले नेता चौधरीले संविधानमा सबैका हक कार्यान्वयन भएको दाबी गरिन्। ‘म पनि मधेसकै छोरी-बुहारी हुँ, संविधानले सबैलाई समेटेको छ अब संविधान कार्यान्वयनको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।
कालो झण्डासहित उपस्थित भएका मोर्चाका कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए।
यसैबीच सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीका अनुसार सप्तरीको कार्यक्रम स्थलसम्म एमाले कार्यकर्ता जान सकेका छैनन्। कार्यक्रम स्थलमा सुरक्षा निकायबाहेक अरू कोही नगएको भन्दै उनलै आफूहरूले सबैतिर अवरोध गरेको बताए।