मेची महाकाली अभियान अन्तर्गत नेकपा एमाले आज सप्तरीमा सभा गर्दैछ। एमालेको मेची महाकाली अभियानका सहभागि कार्यकर्ता अपरान्ह सप्तरी आइपुग्ने कार्यक्रम छ। एमालेको सभालाई लक्षित गरि मधेसी मोर्चाले पनि आजै सो स्थानमा सभा आयोजना गरेको छ।
मोर्चाका सप्तरी संयोजक दिनेश यादवले एमालेको सभा बिथोल्ने चेतावनी दिएका छन्। यसैबीच एमालेले भने सप्तरीमा हुन लागेको सभा नबोथोल्न आग्रह गरेको छ। एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सेतोपाटीसँग कुरा गर्दै एमालेको अभियान कसैको विरुद्ध नभएको बताए।
'यो मुलुकका लागि, राष्ट्रियताका लागि, जनताको लागि हो' उनले भने, 'संविधानको स्थायीको निम्ति हो। हिमाल पहाड, तराई मधेसको एकताका लागि, जाति जनजातिको एकताको निम्ति हो ।'
एमालेको अभियान कसै विरुद्ध प्रतिशोध साध्न नभएको उनले प्रष्ट पारे। 'यो विसुद्ध एमालेको अभियान हो', उनले भने 'नेपालको लोकतान्त्रिक अवस्थामा कसैलाई पनि कार्यक्रम गर्नका लागि प्रतिबन्ध लगाइदैन। कसैलाइ लखेट्ने, पस्न नदिने, छिर्न नदिने भन्ने कुरा लोकतान्त्रिक कुरा होइन।'
सभाका लागि एमाले संयमित भएको भन्दै भट्टराईले हामी संयमितका सप्तरी प्रवेश गर्ने बताए। 'सबैलाई आआफ्नो ढंगले राजनीतिक व्यवहार देखाउन म आग्रह गर्छु', उनले भने 'संयमित अपनाउदा अपनाउदै कुनै अप्रिय घटना भए त्यसको जिम्मा मधेसी मोर्चाले लिनुपर्छ।'