अस्ट्रेलियाका पूर्व प्रारम्भिक ब्याट्सम्यान मार्क वाले भारतीय कप्तान विराट कोहली कङ्गारुविरूद्धको टेस्टमा नकरात्मक ब्याटिङ गरिरहेको विश्लेषण गरेका छन्। र, उनले विराटको नकरात्मक ब्याटिङको प्रभाव भारतीय टोलीमा देखिन थालेको बताएका छन्।
वाले बंगलादेशविरूद्ध दोहोरो सतक बनाएर अस्ट्रेलियासँग खेलिरहेका विराट एकाग्र हुन नसकिरहेको दावी गरे। विराटलाई दोस्रो टेस्टको पहिलो इनिङमा नाथन लायनले १२ रनमा एलबिडब्लुको धरापमा पारेका थिए।
विराटले अस्ट्रेलियाविरूद्ध पछिल्लो तीन इनिङमा मात्र २५ रन बनाएका छन्। अस्ट्रेलियाले नजिकै दुई क्षेत्ररक्षक राखेका कारण विराटको दिमागले काम गर्न नसकिरहेको दावी वाले गरे।
‘विराटको दिमागले अहिले काम गरिरहेको छैन्। उनी दुई क्षेत्ररक्षकलाई नजिकै राखेका कारण बढि विचलित देखिन्छन्। यसै कारण उनी नकरात्मक ब्याटिङ गरिरहेका छन्,’ वाले भने।
विराटको मनमा ब्याटिङ गर्न आउँदा क्षेत्ररक्षक नजिकै रहेका कारण स्पिन बललाई छोयो भने क्याच हुन सक्ने मनोविज्ञानबाट ग्रसित रहेको वाको दावी छ। उनले मैदानमा ब्याटिङ गर्न उत्रिँदा यस्तो दबाब बोकेर नआउन विराटलाई सल्लाह पनि दिएका छन्।