बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी यसपालिको स्पेनिस ला लिगाअन्तर्गत प्रायः सबै खेलमा गोल गरिरहेका छन्। गोल गरेपछि उनको खुसी मनाउने तरिका प्रायः उस्तै हुन्छ।
तर, आइतबार बिहान सेल्टा भिगोविरूद्ध पहिलो गोल गरेपछि मेसी अर्को रुपमा देखिए। उनको गोलको खुसी मनाउने नयाँ तरिकाबाट घरेलु नोउ क्याम्पमा उपस्थित दर्शक मात्र होइन, विश्वभरि छरिएका उनका करौडौ शुभचिन्तक छक्क परे।
मेसीले २४ मिनेटमा सेल्टाको डिफेन्स तोड्दै पहिलो गोल गरेका थिए। उनको त्यो गोल विश्वस्तरिय थियो। उनले मैदानको मध्य भागबाट बललाई ‘ड्रिबल’ गर्दै सेल्टाको डिबक्स नजिकबाट देब्रे खुट्टाले गोल गरेका थिए।
यसपछि खुसी मनाएका मेसीले रंगशालाको भिआइपी लाउन्जतर्फ औला देखाएर फोनको संकेत गरे। उनको खुसी मनाउने यो तरिकालाई लिएर अहिले विभिन्न टिकाटिप्पणी सुरु भएको छ।
स्पेनिस पत्रपत्रिकाले आफ्नो सम्झौता नवीकरणमा भएको ढिलाईलाई लिएर मेसीले मैदानमा असन्तोष जनाएको घटनाको रुपमा यसलाई औल्याएका छन्। केहीले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउतर्फ औला देखाएर आफ्नो सम्झौता नवीकरणका लागि छिटो फोन गर्न आग्रह गरेको रुपमा पनि यसलाई अथ्र्याएका छन्।
मेसीले सेल्टाविरूद्ध दुई गोल गरेका थिए। अझ, उनले गोलका लागि दुई वटा मौका पनि जुर्याइदिएका थिए।
मेसीको बार्सिलोनासँगको सम्झौता नवीकरणको मिति अर्को सिजन समाप्त हुँदैछ। क्लबका अन्य सबै खेलाडीको सम्झौता नवीकरण भइसकेको अवस्थामा मेसीको अहिलेसम्म भएको छैन।