बागलुङका मगर समुदाय नौमती बाजाको संरक्षणमा जुटेको छ। मगर बाहुल्य गाउँमा मगर बाजाका संस्थागत समूह नै बनेका छन्। परियार समुदायमा बढी प्रचलित नौमती बाजा पछिल्लो समय जनजाति समुदायमा पनि चल्तीमा छ। नौमती बाजा कलासंस्कृतिको संरक्षणसँगै आर्थिकोपार्जनको समेत राम्रो माध्यम हुँदै गएको छ।
विवाह, व्रतबन्ध, पूजा, अनुष्ठान जस्ता शुभकार्यमा नौमती बाजा बजाउने चलन छ । संस्कृति संरक्षणका लागि भकुण्डे जनजाति नौमती बाजा समूह बनाइएको समूहका अध्यक्ष तुलबहादुर थापाले बताए। विसं २०६८ मा गठित समूहमा अहिले १३ मगर कलाकार सदस्य छन् । “मगर कलाकार मिलेर समूह बनाएका हौँ, सुरुमा बाजा भाडामा लिएर बजाउन सिक्यौँ” थापाले भने “अहिले हामीसँग आफ्नै बाजा छन्, समूहमा ७० हजार रुपैयाँ बराबरको कोष पनि छ ।”
विसं २०७० मा एक लाख रुपैयाँ खर्चेर नौमती बाजा किनिएको हो । समूहको कोषमा रहेको पैसा बाजा संरक्षणका काममा खर्च गर्ने गरिएको छ । बिहे हुने महिनामा लगातार १४/१५ दिनसम्म बाजा बजाउन हिँड्ने गरेको अनुभव समूहका सचिव लालबहादुर थापाले सुनाए ।
भकुण्डे गाविसभित्र हुने विवाह, व्रतबन्धमा जाँदा पारिश्रमिक १५ हजार तथा सदरमुकाममा २० हजार रुपैयाँ लिने गरिएको सचिव थापाले जानकारी दिए। पोखरासम्म पुग्दा समूहले प्रतिदिन रु ३५ हजार पारिश्रमिकस्वरुप लिने गरेको छ । समूहले ठाउँ, दूरी र खर्च हुने दिनअनुसार पारिश्रमिक निर्धारण गर्ने गरेको छ । एकमुष्ठ आएको पारिश्रमिक समूहले वाद्यवादनमा खटिने कलाकारलाई न्यायोचित रुपमा वितरण गर्ने गरेको छ । केही रकम समूहको कोषमा पनि जम्मा गर्ने गरिएको छ ।
“बिहे, व्रतबन्ध धेरै पर्ने महिनामा त राम्रो कमाइ पनि हुन्छ” थापाले भने “टाढा–टाढाबाट पनि मगर बाजाको माग आउने गरेको छ ।” थापाले कमाउने उद्देश्यले भन्दा पनि नौमती बाजा संरक्षणका लागि आफूहरु लागिपरेको बताए । उनका अनुसार अग्रज पदमबहादुर थापा र लालबहादुर थापाको प्रेरणाबाट भकुण्डेमा मगर नौमती बाजा सुरुआत गरिएको हो ।
भकुण्डे जस्तै जिल्लाका दमेक, हिल, अर्गललगायत मगर बाहुल्य गाविसमा नौमती बाजा संरक्षणको अभियान चलेको छ । जनजाति समुदायका कलाकार सङ्गठित रुपमै नौमती बाजाको संरक्षणमा क्रियाशील छन् । आफ्नो समुदायको पहिचानको उजागर तथा कला र सीपको प्रदर्शन गर्न पनि अभियानले सघाएको छ । रासस