३५ वर्षमा पहिलो पटक शिक्षण अस्पताल महाराजगञ्जको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व नेपाल विद्यार्थी संघभन्दा बाहिर गएको छ। नेविसंघको गढका रुपमा चिनिएको महाराजगञ्ज क्याम्पसमा यसपटक सभापतिको उम्मेद्वार छान्दा विवाद भएपछि यसअघि सधैँ भारी मत अन्तरले प्यानलै जित्ने नेविसंघ कोषाध्यक्ष र आठ जना सदस्यमा खुम्चिएको छ।
महाराजगञ्ज क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियूका मिलन गैरे, सचिवमा स्वेता महतो निर्वाचित भएका छन्। माओवादी निकट अखिल क्रान्तिकारी, एमाले निकट, अनेरास्ववियू र मधेसी दलका विद्यार्थी संगठनले नेविसंघविरुद्ध संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए।
सन्तोष उपाध्यायको नेतृत्वमा चुनाव लडेको नेविसंघले कोषाध्यक्ष, प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट तीन सदस्य जितेको छ। गैरे र उपाध्यायको ९० मतको अन्तर छ। यसअघिका चुनावमा पनि नेविसंघ इतरका विद्यार्थी संगठन संयुक्त पानल बनाएर चुनाव लड्थे।
स्रोतका अनुसार महाराजगञ्ज क्याम्पसमा नेविसंघबाट सुमन आचार्य सभापतिका सम्भावित उम्मेद्वार थिए। गोविन्द केसीको आन्दोलनमा पनि सक्रिय रुपमा लागेका आचार्यलाई टिकट नदिन शिक्षण अस्पतालका प्राध्यापकहरुले नै नेविसंघको नेतृत्वसँग अनुरोध गरेका थिए।
नेविसंघका केन्द्रीय सदस्य डिल्लीराम सुवेदीले सुमनको साटो सन्तोषलाई टिकट दिन त्रिविका प्राध्यापकले अध्यक्ष नैनसिँह महर र आफूहरुलाई सुझाव दिएको बताए। ‘हामीले सुमन नै महाराजगञ्ज क्याम्पसको उम्मेद्वार हो भनेका थियौं’, सुवेदीले भने, ‘प्राध्यापकहरुको कुरा सुनेर अध्यक्षले केन्द्रीय समितिमा छलफल नै नगरी सन्तोषलाई टिकट दिनुभयो। त्यसैले हार्नुप¥यो। अहिले उहाँ पनि पछुताइरहनु भएको छ।’
उपाध्यायलाई सभापतिको टिकट दिएपछि आचार्यले स्वतन्त्र उम्मेद्वारी दिन प्रयास गरेका थिए। तर आफूलाई विभिन्न बहानामा उम्मेद्वारी दर्ता गर्न नदिएको आचार्यले बताए। सुवेदीले अध्यक्ष महरले आचार्यलाई टिकट दिएको भए नेविसंघको प्यानल नै विजय हुने सम्भावना रहेको बताए।
‘हाम्रो आन्तरिक विवादले महाराज क्याम्पसमा सभापति गुमाउनु पर्यो’, सुवेदीले भने, ‘यसले नेविसंघसलाई ठूलो धक्का लागेको छ।’