बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी र संकटा क्लब भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो सेमिफाईनलमा आयोजक रूपन्देही ११ लाई पेनाल्टी सुटआउटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।
यसअघि बुधबार भएको पहिलो सेमिफाईनलमा हिमालयन शेर्पालाई हराउँदै संकटाले फाईनल यात्रा पक्का गरेको हो। घरेलु मैदानमा रूपन्देही सयौं समर्थकहरुलाई निराश बनाउँदै प्रतियोगिताबाट बाहिरियो।
निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि थप गरिएको २० मिनेटमा पनि दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।
खेल अवधिभर अत्यन्त राम्रो खेलेका रुपन्देहीका पाहुना खेलाडीहरु एगगोलाको गोल पोष्ट बाहिर गयो भने सामसोनले हानेको गोल आर्मीका गोल रक्षक शुसील श्रीवास्तवले बचाउ गरे। यस्तै खेलमा आर्मीले पनि केही राम्रो अवसर सृजना गरे पनि गोल गर्न सकेन।
रूपन्देही ११ का सौरभ मगर र उत्तम गुरूङले पेनाल्टी सुटआउटमा गोल गरेका थिए। आर्मीका लागि कप्तान अनिल राय थारू, विवेक बस्नेत, दिलिप लामा र राजु तामाङले गोल गरेका थिए। योसँगै ट्राईबेकरमा आर्मी ४–२ ले विजयी भयो।
ट्राईबेकरमा एक गोल रोकेका आर्मीका गोल रक्षक सुशील श्रीवास्तव बिहीबारको खेलको म्यान अफ दी म्याच भए।
जिल्ला फुटवल संघको आयोजनामा बुटवलस्थित एन्फा ऐकेडेमीको खेल मैदानमा जारी प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजारबाट पुरस्कृत गरिने छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।
शुक्रबार पत्रकार र आयोजक बीच मैत्रीपूर्ण फुटबल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल शनिबार हुनेछ।