लस पाल्मसले रियल म्याड्रिडलाई उसैको घर सान्टियागो बेर्नाबेउमा ३–३ गोलको बराबरीमा रोकेपछि यो साता स्पेनिस लिगको शीर्षस्थानमा बार्सिलोना उक्लिएको छ।
बेर्नाबेउमा म्याड्रिडलाई कहिल्यै हराउन नसकेको पाल्मसले बराबरीमा रोक्यो। म्याड्रिडका लागि आज सबैभन्दा ठूलो दूर्भाग्य केही साताअघि मात्र चोटबाट मैदानमा फर्किएका गारेथ बेलको रातो कार्ड बन्न पुग्यो।
पहिलो हाफको खेल १–१ को बराबरीमा टुँगिएको अवस्थामा दोस्रो हाफमा थुप्रै नाटकीय अवस्था सिर्जना भयो। इस्कोले ८ मिनेटमा म्याड्रिडलाई पहिलो अग्रता दिलाए। तर, त्यसको दुई मिनेटपछि नै टानाले गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
गारेथ बेलले दोस्रो हाफको २ मिनेटपछि नै दोहोरो पहेँलो कार्ड खाए। उनको बर्हिगमनसँगै घरेलु टोली दबाबमा देखियो।
बेल बाहिरिएको ९ मिनेटपछि डिफेन्डर सर्गियो रामोसबाट डिबक्सभित्र बल क्लियर गर्ने मामिलामा ठूलो चुक भयो। उनले हातले बल रोकेपछि पाल्मसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। जसलाई जोनाथन भियराले गोलमा परिणत गरे।
पाल्मसले दोस्रो हाफको ११ मिनेटको खेल भित्र ३–१ को अग्रता बनाएको थियो, जब जर्मनी मिडफिल्डर केभिन प्रिन्स बोएटिङले भ्रमणकारी टोलीले पेनाल्टीको अवसर पाएको तीन मिनेटपछि अर्को गोल थपे।
पराजयको सम्मुख पुगेको म्याड्रिडको उद्धार क्रिस्टियनो रोनाल्डोले गरेका थिए। उनले अन्तिम ४ मिनेटमा दुई गोल गर्दे आफ्नो टोलीको हारलाई टालेका थिए। रोनाल्डोले ८६ मिनेटमा पेनाल्टी र ८९ मिनेटमा कर्नरबाट पाएको बललाई गोलमा परिणत गरेका थिए।
पाल्मससँगको बराबरीपछि म्याड्रिडले घरेलु मैदानमा १–१ अंक बाँडेको छ। केही समय अगाडि बार्सिलोनाले ६–१ गोलले स्पोर्टिङ गिजोनलाई पराजित गरेको अवस्थामा म्याड्रिड यो साता ला लिगाको शीर्षस्थानबाट तल झरेको छ।
बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ भने क्याटलान क्लबभन्दा एक खेल कम खेलेको म्याड्रिड को २४ खेलमा ५६ अंक छ।