अन्तर्राष्ट्रिय क्रिकेट महासंघ(आइसिसी) ले भारत र अस्ट्रेलियाबीच पहिलो टेस्टको लागि पूणेमा बनेको पीचलाई खराब घोषणा गरेको छ। र, भारतीय क्रिकेट बोर्ड(बिसिसीआई) लाई १४ दिनभित्र रिपोर्ट सुम्पिन निर्देशन दिएपछि पीच क्युरेटर दलजित सिंहको जागिर धरापमा पर्ने सम्भावना बढेर गएको छ।
पूणे टेस्टमा अढाई दिनमा दुवै टोलीको गरेर ४० विकेट झरेको थियो। जुन टेस्ट भारतले ३ सय ३३ रनले गुमायो। पूणे टेस्टको पीचलाई लिएर आइसिसीले पहिले नै असन्तुष्टी जनाइसकेको छ। ७९ वर्षीय क्युरेटर दलजितले भारत र दक्षिण अफ्रिकाविरूद्ध २०१५ मा नागपुरमा भएको टेस्टको पनि पीच तयार पारेका थिए। त्यो टेस्टको पीचलाई पनि लिएर आइसिसीले असन्तोष जाहेर गरेको थियो।
धेरैले भारतीय टिम व्यवस्थापकको सल्लाहपछि दलजितले अन्तिम समयमा पीच निमार्णमा फेरबदल गरेको दावी गरेका छन्। तर, यसको जिम्मेवारी कसैले लिएको छैन। त्यसैले दलजितको जागिर धरापमा पर्ने देखिएको छ।