गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) पोखरा शाखाले आइतबार यहाँ गाउँ पर्यटनमा प्रतिबद्ध तीन जना अगुवालाइ सम्मान गरेको छ।
मञ्चका तर्फबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले सम्मानपत्र तथा दोसल्ला सहित स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेकी अध्यक्ष सुशीलादेवी गुरुङलाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’बाट सम्मान गरे।
नेपालमा ग्रामीण पर्यटनका पर्याप्त सम्भावना भएको देश भएको बताउँदै जोशीले ग्रामीण पर्यटनको सुरुवातका लागि स्व क्याप्टेन रुद्रमान गुरुङले गर्नुभएको योगदान अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे।
ग्रामीण पर्यटनको विकासका लागि भिटोफको सहकार्यमा आगामी चैत महिनाको अन्तिम साता पोखरामा ग्रामीण पर्यटन मार्ट सञ्चालन गरिने उनले जानकारी दिए।
भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले क्याप्टेन रुद्रबहादुरको अगुवाइमा २०५४ सालमा सिरुवारीमा होमस्टे सुरु गरि ग्रामीण पर्यटन र होम स्टेको विकास अघि बढेको बताए।
रुद्रमानकै स्मृतिमा भिटोफ पोखराले आइतबारै दुई वटा पुरस्कार घोषणा गरेको छ । हरेक साउनमा भिटोफको वार्षिक साधारणसभामा पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुई जना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिने आइतबार आयोजित कार्यक्रममा जानकारी गराइयो । पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ हुने भिटोफले जनाएको छ । रासस