संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई-मधेशमा दुई प्रदेश बनाउनुपर्ने प्रस्ताव राखेको छ। संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गर्दे मोर्चाले तराई मधेशमा दुई प्रदेशको प्रस्ताव राखेको हो।
मोर्चाले राखेको संशोधन प्रस्तावमा एक नम्बर प्रदेशको झापा, मोरङ सुनसरीलाई दुई नम्बर प्रदेशमा राखिएको छ। संविधानमा एक नम्बरमा रहेका यी तीन जिल्लालाई टुक्राउने मोर्चाको प्रस्ताव छ। चितवनलाई टुक्राएर दुई नम्बर प्रदेशमा राख्ने प्रस्ताव मोर्चाको रहेको छ।
त्यस्तै मोर्चाले पाँच नम्बर प्रदेशमा नवलपरासी जिल्लाको पुरै भाग, कैलाली र कंचनपुरलाई राख्नुपर्ने प्रस्ताव गरेको छ । कैलाली र कंचनपुरलाई टुक्राउने मोर्चाको प्रस्ताव रहेको छ।
मोर्चासँगै अन्य १६ संशोधन प्रस्ताव दर्ता भएको छ। यद्यपी संघीय समाजवादी फोरम नेपालले भने संशोधन प्रस्ताव दर्ता गराएन। दर्ता भएका संशाेधन प्रस्ताव मध्येमा उपर्युक्त प्रस्तावलाई आफ्नो पार्टीले समर्थन गर्ने संघीय समाजवादी फोरमका नेता अशोक राईले सेतोपाटीलाई बताए। सरकार स्वयम्ले संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने भन्दै उनले दर्ता भएका प्रस्तावको समर्थन र विरोध दुबैको पक्षमा आफ्नो पार्टी नरहेको बताए।