दसैंपछि सुर्खेतदेखि काठमाडौं पुग्न मोटरसाइकलमा हिँडेका हामी नवलपरासीको दुम्कौली आएपछि सडकको बायाँपट्टि भव्य मन्दिर बनिरहेको देखेर घचक्कै रोकियौं। हामीजस्तै कयौं यात्रु आफ्ना सवारी रोकेर फोटो र सेल्फी खिच्न मस्त थिए।
अर्जुनको रथ हाँकिरहेका कृष्ण र पछाडि बनिरहेको नेपालमा कतै नदेखिने शैलीको मन्दिर देख्दा म दंग परेको थिएँ। मनमनै खुलदुली भयो– कसले बनायो होला यस्तो भव्य मन्दिर?
साढे चार महिनापछि गत शुक्रबार दिउँसो मन्दिर परिसरमा चौधरी ग्रुपका सहायक प्रबन्धक रामचन्द्र धितालले मलाई मन्दिरबारे बताइहँदा गेटबाहिर मान्छे उसैगरी फोटो र सेल्फी खिच्न व्यस्त थिए।
यो बाटो भएर हिँड्ने प्रायः सबै एकचोटि मन्दिरनिर अडिन्छन्। धार्मिक आस्था भएकाहरु भगवान सम्झेर रोकिन्छन्, धर्ममा विश्वास नगर्नेहरू यसको भव्यताले लोभिन्छन्। धार्मिक आस्था र भौतिक सुन्दरता दुवैमा रमाउने मनोशान्तिका लागि नै यो शास्वत धाम बनाइएको धिताल बताउँछन्।
उनका अनुसार शास्वत धामलाई कला र आस्थाको केन्द्र बनाउन चौधरी ग्रुपले १४ वर्ष लगाएको छ। सात बिगाहामा फैलिएको धाममा शंकराचार्य मठका जयेन्द्र सरस्वतीजी, आर्ट अफ लिभिङका संस्थापक रविशंकर र सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीका बुबा लुकनारायणदास चौधरीको चाहना र सपना मिसिएको छ।
गुरु र बुबाको सपनालाई फोब्र्सको अर्बपतिमा सूचीकृत एक मात्र नेपाली उद्योगी विनोद चौधरीले साकार रूप दिएका हुन्।
सन् २००२ मा नेपाल भ्रमणमा आएका बेला शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी परिवारलाई नेपालमा धाम बनाउन आर्शिवाद दिएका थिए। उनको चाहना थियो, धाममा शिवको मन्दिर होस्, गुरुकुल परम्परामा पढेका कर्मकाण्ड गर्न सक्ने पण्डित उत्पादन गर्ने ऋषि आश्रम होस् अनि पितृहरुको उद्धार घर पनि होस्।
चौधरी परिवारले देवचुली–२, दुम्कौलीमा रहेको चौधरी ग्रुप इन्डस्ट्रियल पार्कको ८० बिगाहा जमिनमध्ये ७ बिगाहा धामलाई छुट्यायो। सन् २००३ मार्चमा धामको शिलान्यास गरियो।
सिजी निर्माणका महाप्रबन्धक इन्जिनियर नारायण श्रेष्ठका अनुसार धामको सम्पूर्ण डिजाइन जयेन्द्र सरस्वतीजीले नै गरेका हुन्। ‘मन्दिर यस्तो हुनपर्छ, गुरुकुल यस्तो हुनुपर्छ, भगवानहरूका मूर्ति यहाँ यहाँ राख्नुपर्छ भनेर सबै उहाँकै निर्देशनअनुसार भएको हो,’ श्रेष्ठले भने, ‘प्राचीन शैलीको मन्दिर बनोस् भनेर यसलाई खजुरावान शैलीमा बनाइएको छ।’
खजुरवान शैली दक्षिणी भारतमा प्रचलित शैली हो। धाम परिसरका मन्दिर लगायत संरचना सिमेन्टले बनाइएको भए पनि झट्ट हेर्दा काठमा बुट्टा भरेर बनाइएका जस्ता देखिन्छन्।
धामभित्र पूजाका साथै लाखबत्ती बत्ती बाल्न मिल्छ भने देशभरिका धार्मिक क्षेत्रको परिचय र तिनको विशेषता पनि थाहा पाउन सकिन्छ।
ऐकम्बरेश्वर मन्दिरको गर्भमा रहेको संग्रहालयमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक स्थलको परिचय र त्यहाँको विशेषता राखिएको छ।
‘कसैलाई आफ्नो ठाउँको धार्मिक क्षेत्रको जानकारी पनि संग्रहालयमा राख्नुपर्छ भन्ने लाग्यो भने उनीहरूलाई पनि समेट्ने गरी केही ठाउँ खाली राखेका छौं’, श्रेष्ठले भने, ‘यहाँ आउनेले नेपालका अन्य धार्मिक क्षेत्रको पनि जानकारी पाओस् भन्ने उद्देश्य हो।’
धिताल गत साता सुदूरपश्चिमको अछामदेखि मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक स्थानका चिनारी खोज्न हिँडे। उनले अछामको वैद्यानाथबाट नौमुठे गाईको गोबर, माटो र त्रिशुल, नेपालगन्जको बागेश्वरीबाट सतीदेवीको वाकपतन भएको गर्तगृहको जल, प्युठानको स्वर्गदारीबाट अलौकिक गाईको गोबर र विभूति, पाल्पा, स्याङ्जा र गुल्मीको संगम रुरुबाट कालिगण्डकीको शालीग्राम, मुक्तिनाथको जल मनकामनाबाट राम शाह अंकित चिनारी ल्याएका छन्।
‘काठमाडौं लगायत पूर्वी नेपालका धार्मिक स्थलको चिनो ल्याउने काम भइरहेको छ,’ धितालले भने, ‘सबै जना सबै धार्मिक स्थल जान सक्नुहुन्न। यहाँ आएपछि उहाँहरूलाई त्यहाँ पनि गएजस्तो होस् भनेर संग्रहालय बनाइएको हो।’
मन्दिर बाहिरको कुण्डमा बागमती, गंगा लगायत पवित्र नदी र धामको जल राखिनेछ। मन्दिरभित्र शिवलिंग स्थापना गरिएको छ। शंकराचार्य मठका कालिगढले बनाएको उक्त शिवलिंग कालो ग्रेनाइटबाट बनेको हो। शिवलिंगका अलावा मन्दिरभित्र १६ वटा देवी देवताका मूर्ति राखिएका छन्।
विवाह, ब्रतबन्ध, श्राद्ध, काजकिरिया, पूजा लगायत कर्मकाण्ड गर्न गुरुकुलमा अहिले २९ जना विद्यार्थी पढिरहेका छन्। सामान्य विद्यालयबाट पाँच कक्षा उत्तीर्ण उनीहरू तीन वर्षसम्म कर्मकाण्डी विद्या अध्ययन गर्नेछन्। गुरुकुलभित्र उनीहरुले डेक्स बेन्चमा नभई कुश आसनमा बसेर पढ्छन् र हवन कुण्डमा कर्मकाण्डको अभ्यास गर्छन्।
‘गुरुकुल गुठी जिल्ला शिक्षा कार्यालयमा दर्ता भइसकेको छ, कर्मकाण्डका अलावा सरकारी पाठ्यक्रम पनि पढाइ हुन्छ,’ धितालले भने, ‘आठ कक्षा पास गरेपछि उनीहरू अन्य विद्यालयमा नौ कक्षामा पनि पढ्न सक्छन्।’
पढाइ, छात्राबास, स्वास्थ्य उपचार लगायत सुविधा विद्यार्थीलाई हुन्छ। ४५ जनालाई पढाउने क्षमता भएको गुरुकुलबाट हरेक वर्ष १५ जना पण्डित उत्पादन गर्ने लक्ष्य छ।
धामभित्र रहेको अर्को विशेष कुरा पाण्डुलिपी स्रोत केन्द्र हो। संस्कृतमा लेखिएका प्राचीन पाण्डुलिपीको जगेर्ना गर्न र तिनीहरूको अर्थ पत्ता लगाउन केन्द्रले काम गर्ने श्रेष्ठले बताए। ‘हाम्रा पुर्खाले लेखेका कुरा हामी धेरै अर्थ लगाउन सक्दैनौं न तिनलाई जोगाउन नै सकेका छौं,’ श्रेष्ठले भने, ‘पाण्डुलिपी स्रोत केन्द्रले तिनलाई संकलन र संरक्षण गर्नुका साथै डिजिटलाइज गरेर इन्टरनेटमार्फत् अध्येतासम्म पु¥याउने छ।’
उनका अनुसार धाम परिसरमा रहेको थ्रीडी प्रविधिको मुभी सेन्टरमा विभिन्न मुख्य धार्मिक स्थलमा भइरहेका गतिविधि हेर्ने र पूर्विय संस्कारका धार्मिक कृतिमा आधारित दृश्य सामग्री देखाइने छ। धाम परिसरमा आर्ट अफ लिभिङको योग सेन्टर, प्राचीन सामग्रीको स्टल, अखण्ड ज्योति, समुद्र मन्थन, लाखबत्ती बाल्ने ठाउँका साथै शाकाहारी भोजनालय पनि बनाइएको छ।
धाम परिसरभित्र गौशाला पनि निर्माण गरिएको छ। सर्वसाधारण र विशेष व्यक्तिको प्रवेशका लागि दुई गेट रहेको धामको अग्रभागमा अर्जुनको रथ हाँकिरहेका कृष्णको मूर्ति राखिएको छ। धाम परिसरमा जोडिएको लाइट सिस्टमले राति मन्दिरलाई सप्तरंगी बनाउँछ। साउन्ड सिस्टम धाम परिसरभरि जोडिएको छ। धामभित्र १२ राशी र २७ नक्षेत्रअनुसारका रुख पनि रोपिएका छन्।
निर्माणको अन्तिम चरणमा रहेको धामको आउँदो फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारी, शंकराचार्य जयन्द्र सरस्वती र आर्ट अफ लिभिङका संस्थापक रविशंकरको उपस्थितमा उद्घाटन हुँदैछ। शंकराचार्य मठ, आर्ट अफ लिभिङका साथै उद्घाटनमा पशुपतिका पुजारीहरू पनि सहभागी हुनेछन्।
उद्घाटनपछि धामभित्र सर्वसाधारणको प्रवेश खुला गरिनेछ। ‘हामी मन्दिरमा भगवानको दर्शन गर्न आउनेसँग कुनै शुल्क लिने छैनौं,’ महाप्रबन्धक श्रेष्ठले भने, ‘तर विवाह, व्रतबन्ध, लाखबत्ती बाल्न केही शुल्क लिनुपर्छ, त्यो हामी पछि तोक्छौं।’ धामलाई धार्मिक पर्यटन केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए।
धामका प्रमुख कार्यकारी अधिकृत आषुतोश चावला चौधरी ग्रुपले धाम निर्माणमा सहयोग गरे पनि यसको सञ्चालन र व्यवस्थापन शंकराचार्य, रविशंकर र पशुपति क्षेत्र विकास कोषको सल्लाहअनुसार हुने बताउँछन्।
‘शंकराचार्यजीको निर्देशन र रोहबरमा चौधरी ग्रुपले यसको निर्माण गरेको छ, यो अब समाजको सम्पत्ति बनिसकेको छ,’ चावलाले भने, ‘योसँग तीन ठूला संस्था (शंकराचार्य मठ, आर्ट अफ लिभिङ र पशुपति क्षेत्र विकास कोष) जोडिएका छन्। उहाँहरूकै मार्गदर्शनअनुसार यसको व्यवस्थापन हुनेछ।’
चावलाले धाम भौतिक र आध्यामिक दुवै रूपले भव्य भएको बताए। ‘आध्यामिक शान्ति धामभित्र प्रवेश गरेपछि अनुभव हुन थाल्छ, जुन मनमा कैद हुन्छ,’ चावलाले भने, ‘भौतिक भव्यता त क्यामरा पनि कैद भइ जान्छ।’
कुराकानी सकेर बाहिर निस्कँदा मन्दिरको भौतिक भव्यतासँगै मानिसहरु आफूलाई मोबाइलको क्यामेरामा कैद गरिरहेका थिए।