स्वदेशमा लगातार तीन उपाधि जितेर बंगलादेश पुगेको मनाङ–मर्स्याङ्दी क्लबको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कठिन मोडमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चित्तागोङ अबहानीसँग २-२ को बराबरी खेलेपछि मनाङको नकआउट पुग्ने सम्भावना एक दमै कम भएको हो।
आजको खेलसँगै ४ अंकसहित मनाङ समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। शेख कमल कपको सह–आयोजक समेत रहेको चित्तगोङ अबहानी ५ अंकसहित शीर्ष स्थानमा रहेको छ।
चित्तागोङस्थित मोहम्मद अजिज रंगशालामा मनाङलाई बराबरमा रोकेसँगै अबहानी सेमिफाइनलमा प्रवेश गरेको छ।
ढाकाको मोहमडन स्पोर्टिङ र अफगान क्लब सहिन अस्मायीबीचको खेलले मनाङको भविश्य निर्धारण गर्नेछ। अबको खेलमा अफगानी टिमलाई आयोजक टिमले रोक्यो भने मनाङको भविश्य खुल्नेछ। यदि अफगानी टिमले जित्यो भने मनाङ घर फर्कने निश्चित छ।
पहिलो खेलमा मोहमडनमाथि २–० को जित पाएको मनाङ अफगानी टिमसँग ३–१ ले हारेपछि कठिन मोडमा पुगेको हो। सहिनलाई ३–१ ले हराएको चित्तागोङले मोहमडनसँग गोलरहित बराबरी खेलेको थियो।