शरीरलाई कालो अघोरी वस्त्र र छालालाई धुवाँ–खरानीको बाक्लो पत्रले ढाकेपछि सबै उस्ताउस्तै देखिने नै भए। तर, मेरो नजर त उनको आँखामा थियो।
जोगीको भेषमा माग्न बसेका बहुरुपी र तमासा लगाएर गाँजा तान्दै गरेका साधुहरू छिचोलेपछि म उनको सामुन्ने पुगेकोे थिएँ। धुनी जगाएर बसेका ती अघोरी र मेरो आँखा मिल्दै गयो, दुरी घट्दै गयो।
पशुपति क्षेत्र विकास कोषले दिएको दाउराका मुढाबाट निस्केको धुँवा पिरो रहेछ। उनी थोरै ढल्किएर ‘फू’ गर्न थाले। म नजिकै पुगिसकेको थिएँ। दाउरा सल्केर कोइला भइसकेको एउटा भागमा चिम्टाले हल्का ठोके। अलिकति धुलो झर्यो। त्यसैमा बूढीऔंला धसे र मतिर हेर्दै सोधे, ‘टीका?’
मैले निधार दिनुको सट्टा प्रश्न गरेँ, ‘बाबा आप कहाँसे आए हैं?’
उनी अलमलिए। टाउको घुमाए। र, बूढीऔंला टक्टक्याए।
‘बाबा आप कहाँसे आए हैं?’ अघि भनिएकै शब्द उनले पटक–पटक बर्बराए र मलाई बेवास्ता गरेर अन्तैतिर हेर्न थाले। उनको उच्चारण र गतिविधिले मलाई आफ्नो अनुमानको झनै नजिक पुर्यायो।
म एक फन्को लगाएर उनको आसनकै पछिल्तिर पुगेँ। उनले आँखा टेढो पारेर मतिर हेरे। एकैछिनमा जुरुक्क उठे र सरासर छेवैमा आएर बोले, ‘नो कोइस्चन, नथिङ...’
मेरो अनुमान सही निस्कियो। यी पश्चिमा मुलुकका साधु रहेछन्।
‘क्या हुवा?’ अर्का भारतीय अघोरी त्यहाँ आइपुगे।
मैले पश्चिमातिर हेर्दै बोलेँ, ‘टीका।’
‘टीका,’ ती पश्चिमाले भारतीयलाई अह्राउँदै मतिर हेरे र फेरि बोले, ‘नो कोइस्चन।’
भारतीय साधुले अलिकति खरानी ल्याएर मेरो निधारमा घसिदिए। साथमा रहेका पश्चिमा आफ्नो पनि गुरु रहेको बताउँदै उनलाई नबिथोल्न आग्रह गरे। मैले ‘चेला’ बाटै भए पनि केही जान्ने प्रयत्न थालेँ।
‘मेरो नाम भट्केश्वर नाथ हो,’ भारतीयले उनकै भाषामा भने, ‘राजस्थानको खटु श्यामजी मठबाट आएको हुँ।’
हरियाणाको पानीपतमा जन्मेका भट्केश्वर नाथले आठ वर्ष नपुग्दै आमाबा दुर्घटनामा गुमाएका रहेछन्।
‘त्यही बेलादेखि वैराग लाग्यो,’ उनले भने, ‘मठमन्दिर चहार्दै जोगीहरूको संगत सुरु गरेँ।’
मैले एक नजर उनको कालो वस्त्रतर्फ हेरेँ। त्यसपछि उनको आँखामा आफ्नो आँखा अड्याउँदै अघोरी र अन्य बाबाबीचको अन्तर सोधेँ।
‘शैव धर्मको वर्चस्वका लागि वैष्णव साधुबाहेक पनि संगठित शक्ति चाहियो भन्ने लागेपछि हामी नाथ र नागाहरू जन्मेका हौं,’ उनले भने, ‘मजस्ता नाथहरूले गर्ने कर्म नै अघोरी हो।’
उनका अनुसार यो कर्म पूर्णतया मसान घाटसँग जोडिएको छ। वैष्णव साधुहरूले जथाभाबी खानेपिउने गर्दैनन्। आफूहरू चाहिँ जे पनि मनलाग्दी उपभोग गर्न स्वतन्त्र रहेको उनले खुलाए।
शिवरात्रि बेला यतिधेरै साधुसन्त किन पशुपतिनाथमा जम्मा हुन्छन् भन्ने मेरो अर्को जिज्ञासा उनलाई मनपरेनछ।
‘यो किन भन्ने प्रश्न नै बहुत खराब छ,’ उनले थपे, ‘यो प्रथा हो र त्यसैलाई हामीले निरन्तरता दिइरहेका छौं। यो संसार तपाईं र मैले आज सुरु गरेको होइन। जसरी तपाईंका पुर्खाले मान्दै आएको कुरा तपाईं पालना गरिरहनुभएको छ, त्यसैगरी हामी साधु संन्यासीहरू पनि आफ्ना प्रथाको पालना गरिरहेका छौं। यस्तो कुरालाई किन भनेर प्रश्न गर्न मिल्छ?’
छ वर्ष अन्तरालमा दोस्रोपटक नेपाल आइपुगेका भट्केश्वर नाथलाई यसैपाला नेपालमै बस्दै आएका अर्का अघोरी त्यागीनाथसँग भेटघाटको मौका जुरेको थियो। डा. रामनाथ अघोरीका शिष्य त्यागीनाथ आफूभन्दा वरिष्ठ अघोरी रहेको उनले जानकारी दिए।
‘यहीँ तलै धुनी जगाएर बस्नुभएको छ,’ उनले भने, ‘गएर उहाँसँग आशिर्वाद लिनुस्। सोध्नुस्। धेरै कुरा थाहा हुन्छ।’
भट्केश्वर नाथका अनुसार उनीहरूको सम्प्रदायकै अर्का चुनचुन बाबा पनि यतै थिए। अहिले समाधिस्थ भइसकेका छन्। उनका शिष्य भोलानाथ अघोरी भने ललितपुरतिर एउटा डाँडामा मठ स्थापना गरेर बसेका छन्।
उनका अनुसार भारतमा यस्ता अग्रज अघोरीहरू असाध्यै धेरै छन्। जो जतासुकै रहे पनि आफ्नो परिवारका अग्रजको हिसाबकिताब सम्पूर्ण अघोरीहरूले राख्ने गरेको उनले जानकारी दिए।
नेपाल आएका रामनाथबाहेक किन्नाराम र गणेश अघोरीजस्ता गुरु आफ्नो सम्प्रदायका अगुवा रहेको बताउने भट्केश्वर नाथका अनुसार ती सबै समाधिस्थ भइसकेका छन्।
कुराकानीकै क्रममा उनले साथमा बसेका पश्चिमाको नाम ‘गंगानाथजी’ रहेको बताए।
‘दसौं वर्षदेखि भारत आवतजावत गरिरहनुभएका उहाँ फ्रान्सेली नागरिक हो,’ उनले थपे, ‘म पीर हुँ भने उहाँ मभन्दा पनि ठूलो फकीर हुनुहुन्छ।’
ती फ्रान्सेली गुरु पहिलोपटक नेपाल आएको जानकारी पनि उनैले दिए।
फ्रान्समा यिनको नाम के थियो? को हुन्? के गर्थे?
‘यसबारे त न मलाई थाहा छ, न मतलब छ,’ उनले थपे, ‘तपाईंले यस्तै सोध्न खोज्नुभएको भेउ पाएर उहाँ बिच्किनुभएको हो।’
यस्ता विदेशी किन साधु बन्न आइपुग्छन्?
यो प्रश्नमा भट्केश्वर नाथले मलाई लामै जवाफ प्रस्तुत गरे–
‘को स्वदेशी हो र को विदेशी हो भन्ने कुराको मतलबै छैन। मानिस जो कोही पनि कुन परिस्थितिमा साधु बन्छ वा गृहस्थी बन्छ भन्ने कुरा केवल माथि बसेकालाई थाहा हुन्छ। उनैले चाहेअनुसार सबैथोक चल्छ। माथि बसेकाले नै मलाई आजसम्म साधु बनाएका हुन्। भोलि उनले चाहे भने तुरुन्तै मलाई नारीको साथमा लगाइदिन्छन्। सबै प्राणीमा हुने त्यो मोहलाई आजसम्म मैले जित्दै आएको पनि उनैले चाहेर हो। मैले तपाईंलाई अहिले यहीँनिर लगाएका सबै लुगा फुकाल्नुस् भनेर अह्राएँ भने फुकाल्नु हुन्छ?’
उनले दोहोर्याएर सोधे, ‘फुकाल्नु हुन्छ?’
फेरि आफैले जवाफ दिए, ‘फुकाल्नु हुँदैन। किनभने तपाईं मोहमा फस्नुभएको छ। जबकि यसबाट मुक्त भएरै हामी साधु भएका छौं। यो कसलाई कुन क्षणमा हुन्छ, थाहा हुँदैन। यस्तै कुनै क्षणमा यी विदेशी पनि साधु भएका हुन्।’
हिन्दु धर्ममा लागेका सबैजसो साधुसन्तलाई शिवरात्रि बेला पशुपतिनाथ दर्शन गर्ने इच्छा हुने गरेकाले नै आफूहरू यहाँ आइपुगेको उनले बताए।
‘यो हिमालयको देश हो,’ उनले थपे, ‘नेपाल आउनु र ध्यान–तपस्या गर्नु साधुसन्तको परापूर्व कालदेखिको परम्परा हो।’
पशुपति दर्शनपछि मुक्तिनाथ, भारतको कामाक्षादेवी, तारापिठ हुँदै अनेक मन्दिर र तीर्थ भ्याएर राजस्थानस्थित मठ फर्कंदा वर्षदिन पनि लाग्नसक्ने उनले जानकारी दिए। यसरी डुल्दै हिँड्दा कहिलेकाहीँ मिठो भोजन पनि मिल्ने त कहिले केही दिनसम्मै भोकै सुत्नुपर्ने उनले सुनाए।
‘म ४१ दिनसम्म भोकै बसिसकेको छु,’ उनले थपे, ‘इच्छा लागेको कुन ठाउँ पुग्दा के होला भन्ने हिसाबकिताबै हुँदैन।’
अनि ती पश्चिमा साधु पनि यसरी नै घुम्छन्?
‘उनी तीन महिनाको भिसा लिएर आएका हुन्,’ उनले भने, ‘त्यो अवधिसम्म के गर्ने भन्ने निर्णय उनैले लेलान्।’
उनका फकीर गुरु गुमुक्क परिरहेकै अवस्थामा म भट्केश्वर नाथसँग विदा भएँ।
...
‘शिवरात्रिकै निम्ति त्यत्रो पाइलटबाबा आइसक्नुभएको छ,’ आफ्नो कार्यकक्षमा लागेका अनेकथरी मानिसको ओइरोबीच डा. गोविन्द टण्डन भनिरहेका थिए, ‘यसैको अवसर पारेर केही दिनमै काँची कामकोठीका शंकराचार्य र गुरु रविशंकर पनि आउँदै हुनुहुन्छ।’
पशुपतिमै भर्खर मैले पनि पाइलट बाबाको लश्कर देखेको थिएँ। महँगो मोटरको अघिल्लो सिटमा उनी घाँटी ढाक्ने गरी माला लगाएर बसेका थिए। मोटर पछाडि पनि सुरक्षाकर्मीदेखि गेरुवस्त्र लगाएकाहरूका थुप्रै सवारीको लश्कर थियो।
टण्डनले लिएका पछिल्ला दुईवटा नाम शंकराचार्य र रविशंकर भने शिवरात्रिभन्दा पनि एक जना व्यापारीले निजी तवरमा स्थापना गरेका मन्दिरको उद्घाटनमा सरिक हुन आइरहेका धार्मिक ‘सेलिब्रिटी’ हुन्।
‘डाक्टर साहेब, मैले यी राजनीतिज्ञ र व्यापारीहरू परिचालन गर्ने सेलिब्रिटीभन्दा पनि ध्यानी योगीहरूका बारेमा जिज्ञासा राखेको हुँ,’ मैले प्रस्ट पार्ने कोशिस गरेँ, ‘कुनै समय शिवरात्रिकै बेला यता आउने शिवपुरी बाबा र खप्तड बाबाहरूको क्रम बन्द भएकै हो?’
पशुपतिमै विद्यावारिधि गरेका विद्वान मात्र नभई यस मन्दिरको प्रशासनिक इकाइ पनि सम्हाल्दै आएका सदस्य–सचिव टण्डन एकछिनसम्मै शान्त बसे। त्यसपछि त्यो भीडभाडकै बीच हामीले एकछिन शिवपुरी बाबा र खप्तड बाबाको चर्चा गर्न भ्यायौं।
...
सन् १९२६ मार्चमा शिवरात्रिकै समय पारेर एक जना साधारण देखिने बाबा काठमाडौं आइपुगेका थिए। यस्ता साधारण भेषभूषाका बाबा सामान्य बनेरै सडकमा हिँड्छन्। तर, उनी कति असामान्य व्यक्ति हुन् भन्ने त्यतिबेला अरू कसैलाई थाहा नभए पनि नेपालस्थित बेलायती रेजिडेन्ट विल्किन्सन भने राम्ररी परिचित थिए। त्यो बेला भारतमा अंग्रेजको शासन थियो र नेपाल रहने उसको राजदूतलाई रेसिडेन्ट भनिन्थ्यो।
बग्गीमा चढेर कतै जाँदै गरेका विल्किन्सनले अचानक हुलमा देखेका व्यक्ति गोविन्दनाथ भारती थिए, जसलाई पछि शिवपुरी बाबाका रूपमा सबैले चिने। उनै शिवपुरी बाबा, जो पश्चिमाले नजिकबाट चिनेको पहिलो प्रभावशाली भारतीय साधु थिए।
बेलायत भ्रमण बेला यी दक्षिण भारतीय साधुको तत्कालीन महारानी भिक्टोरियासँग निकटताबारे लेखिएको पुस्तकका अनुसार उनीहरूबीच अठारपल्टभन्दा बढी त औपचारिक भेटघाटै भएको थियो। त्यो भ्रमण क्रममै बीसौं शताब्दीकै एक प्रभावशाली व्यक्तित्व जर्ज बर्नाड शासँग भएको यी बाबाको संवाद पनि चर्चित थियो।
‘तपाईं भारतीय जोगीहरू ध्यान भनेर वर्षौं बिताउनु हुन्छ। समयको कुनै कदर नै गर्नुहुँदैन। अत्यन्तै प्रयोजनविहीन मान्छे,’ जर्ज बर्नाड शाले यस्तो भनेपछि शिवपुरी बाबा चुप लागेनन्।
‘मैले हेर्दा त तपाईंहरूलाई नै समयको दास पो देख्छु,’ उनले भने, ‘हामी त अनन्त कालमा बाँच्ने मान्छे हौं।’
यस्ता असंख्य सन्दर्भ शिवपुरी बाबासँग जोडिएको नेपालस्थित ती बेलायती दूत विल्किन्सनलाई थाहा थियो। त्यसैले उनी बग्गीबाट ओर्लिए र काठमाडौंको सडकमा हिँडिरहेका बाबाको सामुन्ने पुगे।
‘बाबा म तपाईंको निम्ति के गर्न सक्छु?’ ती बेलायती दूतले सोधेछन्।
त्यो बेला बाहिरियाहरूलाई काठमाडौं घुम्न वर्षमा एकपटक मात्र मौका मिल्थ्यो। त्यही शिवरात्रिमा। त्यो पनि केवल सात दिनको भिसामा। त्यसभन्दा बढी एक दिन यताउता गर्न पाइन्थेन।
‘मलाई यो ठाउँ असाध्यै मनपर्यो,’ भिसा सकिएर फर्किने बेला भइसकेका बाबाले भनेछन्, ‘मिलेदेखि यतै आश्रम बनाएर बस्ने इच्छा छ।’
त्यो राणा शासनको बेला थियो। बाबाको यस्तो इच्छा सुन्ने मानिस उस्तै शक्तिशाली बेलायती दूत थिए। उनैको पहलमा काठमाडौंको उत्तरतर्फ एउटा जंगलमा बाबालाई आश्रम बनाएर बस्ने अनुमति मिल्यो।
काठमाडौं आउँदै सय वर्ष पुगिसकेका बाबाले त्यसपछि सम्पूर्ण जीवन यही उपत्यकामा व्यतीत गरे। बाबा एक सय ३७ वर्ष बाँचेका थिए। उनले ध्यान र तपस्या गरेको जंगलकै नामबाट उनी ‘शिवपुरी बाबा’ का रूपमा परिचित बने।
एउटा अर्को रोचक सन्दर्भ पनि शिवपुरी बाबासँग जोडिएको छ।
राजा महेन्द्रको गद्दीआरोहणका बेला अतिथि बनेर तत्कालीन भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन् काठमाडौं आइपुगेका थिए। यसरी आएका त्यत्रो महत्वपूर्ण पाहुना अचानक विमानस्थलबाटै गायब भए।
दौडादौड मच्चियो।
पछि त उनी तिनै शिवपुरी बाबाको आश्रममा पो भेटिए।
राष्ट्रपति राधाकृष्णन् केवल एउटा प्रश्न लिएर शिवपुरी बाबालाई भेट्न गएका थिए। त्यो प्रश्नको सानो उत्तर नै यति प्रभावकारी थियो, जसलाई सुनेर राष्ट्रपति सन्तुष्ट हुँदै फर्केका थिए। अध्यात्म, नैतिकता र शरीरबारे त्यो प्रश्न र उत्तरलाई लिएर बाबाका बारे पछि उनका अंग्रेज शिष्य जोन बेनेटले तयार पारेको पुस्तक ‘लङ्ग पिल्ग्रिमेज’ मा विस्तारमा वर्णन गरिएको छ।
शिवरात्रिकै अवसर पारेर शिवपुरीबाबा भन्दा पछि आइपुगेका अर्का भारतीय महात्मा थिए, खप्तड बाबा। यी दुवै बाबा साधु संन्यासीको लश्करसहित नेपाल प्रवेश गरेका थिए। उनीहरूले बाँकीको जीवन यतै बिताए।
सन् १८८० तिर कश्मीरमा जन्मेका खप्तड बाबा सुरुमा मेडिकल डाक्टर थिए। दुनियादारी त्यागेर ध्यानमा रमाउने इच्छा भएपछि उनले संन्यास लिए। भगीरथी नदीको किनारमा स्वामी ज्ञानआश्रमबाट दीक्षा लिए। र, तिनै स्वामी सचितानन्द सरस्वती शिवरात्रिको अवसर पारेर नेपाल प्रवेश गरे। त्यसपछि इलाम, कालिन्चोक, स्वर्गद्वारी, मुसीकोट, चन्दननाथ हुँदै अन्तिममा उनले सबैभन्दा लामो कालखण्ड (५० वर्ष) खप्तडमा बिताए। त्यो स्थानबाटै उनको नाम ‘खप्तड बाबा’ मात्र रह्यो। र, उनकै प्रभावबाट डोटी, बझाङ, अछाम र बाजुरामा फैलिएको यो उच्चभूमि राष्ट्रिय निकुञ्जसमेत घोषित हुनपुग्यो।
...
कुनै समय पशुपतिनाथको पूजाआजा शिवरात्रिमा भीड लगाउने यिनै संन्यासीहरूबाटै हुन्थ्यो।
लिच्छवि कालको सन्दर्भ उल्लेख गर्दै डा. टण्डन भन्छन्, ‘त्यतिखेर पूजाआजा गर्ने संन्यासीमा पनि नश्रृखलिक, श्रृखलिक र पासुपतजस्ता सम्प्रदाय थिए, जुन सम्प्रदायको उल्लेख भारतमा पाइँदैन।’
यहाँका संन्यासीहरू पनि विभिन्न समयमा संशोधन हुँदै र नयाँ नयाँ थपिँदै गए। ‘पशुपतिनाथको मन्दिरसँग सम्बन्धित साधु भनेका दशनामीहरू हुन्,’ टण्डन भन्छन्, ‘त्यसमा पछि गएर थपिएका चाहिँ नागा हुन्।’
लिच्छवि कालमै पशुपतिनाथ वरपर पर्खाल बनाउने एक जना संन्यासीका बारेमा शिलापत्रमा उल्लेखै छ। त्यति बेला पशुपतिनाथको नाम पनि राज्यवद्र्धनदेव भनिएको देखिन्छ। त्यतिखेरदेखि नै राज्यको वद्र्धन गरिदिने अथवा समृद्धि बढाइदिने भनेर यो मन्दिरको महत्व देखाइएको छ।
यसरी संन्यासीहरूले पूजा गर्ने परम्परा चल्दै आएकोमा पछि गएर आमद्र्धक अग्नि मठ परम्पराका गुरु विसं ११९९ मा आएपछि भट्टहरूको परम्परा सुरु भयो। बीचमा फेरि भट्ट परम्परा रोकिएर संन्यासीहरूले पूजा गर्न थाले। यो क्रम चल्दै गयो। राघवदेवको पालामा त्यहाँ अलिकति खटपट सुरु भयो। पछि त्यो परम्परा पनि सकियो र दक्षिणात्य भट्टहरूको सुरु भयो।
‘दक्षिणात्यमा पनि विन्द्याचलदेखि दक्षिणतिरका भट्टहरू ल्याइन थालिए,’ टण्डन भन्छन्, ‘राजा जगतजय मल्लको पालादेखि यो परम्पराले निरन्तरता पाउँदै आएको छ।’
दक्षिण भारतमा मुगलहरूको प्रभाव विस्तार नभएका कारण उताका हिन्दु ब्राह्मणहरूले अटुट रूपमा आफ्नो परम्परा निर्वाह गर्दै आएको बताइन्छ। त्यसैले नै दक्षिणात्य ब्राह्मणलाई चोखो र सदाचारमा पनि पवित्र मानिने गरेको टण्डन सुनाउँछन्।
‘त्यसबाहेक नेपालमा शिवस्व नखाने चलन थियो,’ उनले थपे, ‘त्यसैले यताका प्रसिद्ध शिव मन्दिरहरूमा भारतबाटै पुजारीहरू ल्याउने परम्परा सुरु भएको पाइन्छ।’
यसरी कुनै समय संन्यासीहरूले नै पूजा गर्दै आएको पशुपतिनाथमा उतिबेला आदि शंकराचार्य पनि आएको चर्चा गरिन्छ। तर, टण्डनका अनुसार त्यसलाई पुष्टि गर्ने प्रमाण भेटिएको छैन।
‘आचार्य मठले यहाँ वंशावली परम्परालाई आधार बनाएर आदि शंकराचार्य आउनुभएको उल्लेख गरेको छ,’ टण्डन भन्छन्, ‘जबकि स्वयं आदि शंकराचार्यले नै आफू घुमेका स्थानको वर्णन गरेर तयार पार्नुभएको पुस्तक ‘शंकर दिग्विजय’ मा पशुपतिनाथको कुनै चर्चा नै छैन।’
यति हुँदाहुँदै पनि वेद पुराणमा उल्लेख गरिएको पशुपतिनाथको एक मात्र महत्वपूर्ण मन्दिर यहाँबाहेक संसारमै अन्यत्र कतै नहुनुले यो स्थानको महत्व साबित गर्ने टण्डन सुनाउँछन्।
‘महाभारतमा पशुपतिनाथमा आएर वृषभध्वज चढाएको सन्दर्भ छ,’ टण्डन थप्छन्, ‘त्यसैगरी शिव पुराणको कुटी रुद्र संहितामा त भगवान पशुपतिनाथलाई केदारनाथको शिर हो भनेरै लेखिएको छ।’
यस्तो महत्वकै कारण शिवरात्रिको समय पारेर ठूल्ठूला ज्ञानी र साधुसन्त पशुपतिमा भेला हुने परम्परा चल्दै आएको उनले जानकारी दिए।
‘हामीले चिन्दै नचिनिकन कति साधुसन्त, महात्माहरू आफ्नै सुरले तपस्या गर्नुहुन्छ र फर्कनुहुन्छ,’ उनी भन्छन्, ‘यसरी आउने, ध्यान गर्ने र जाने कतिपय साधुसन्त देख्दा नपत्याउँदा हुन्छन्।’
पहिचान नखुलाइकनै आफ्नै सुरमा आउने र फर्कने बाबाहरूको पहिचान गर्ने र सम्मान दिने कुनै पनि प्रयास पशुपति क्षेत्र विकास कोषले गर्दैन?
जवाफमा टण्डनले त्यस्ता बाबाले सम्मान लिनै नचाहने बताए। तीमध्ये कोही त बौलाहाजस्ता वा कोही असाध्यै फोहोरी भएर बसेका देखिन्छन्। हत्तपत्त कोही नजिक जानै चाहँदैनन्। त्यस्ताको सानिध्य प्राप्त गरेर कुरा खोतल्न जोकोहीलाई अलिक कठिन हुन्छ।
यो सबलाई हेरेर नै ‘पशुपति क्षेत्रमा भगवान विभिन्न रूपमा आउनुहुन्छ’ भन्ने चर्चा व्यापक बनाउँदै लगिएको टण्डन सुनाउँछन्।
‘अहिले धेरैजसो बाबा त्याग र तपस्याभन्दा मिडियाले हाइलाइट गरेपछि ठूला बनेका भेटिन्छन्, हुल पनि उनीहरूतिरै लागिरहेको हुन्छ,’ टण्डनको भनाइ छ, ‘जबकि यहीँ पशुपतिमा हामी कहिलेकाहीँ साधारण पहिरन र सामान्य बनेर आएका महत्वपूर्ण साधुसन्त भेटिरहेका हुन्छौं।’
त्यस्ता साधुसन्त पहिचान भएको बेला के गर्नुहुन्छ?
‘सूत्रबाट जानकारी पाएपछि भेट्न जान्छौं,’ उनले भने, ‘यसरी भेट्न जाँदा पनि कतिपय गफाडी फेला पर्छन्।’
सच्चा साधु चाहिँ कत्तिको फेला पर्छन्?
‘पोहोर एक जना वनारसबाट आएका थिए।’
यसपाला?
‘अहिलेसम्म फेला परेका छैनन्,’ शिवरात्रिको चटारोले भ्याइनभ्याई भएका टण्डनले दोस्रोपटक घडी हेरे र भने, ‘कोही फेला परेछन् भने म तपाईंलाई पक्कै खबर गर्नेछु।’
टण्डनको त्यो ‘खबर’ बिहीबार रातिसम्म पनि आएको छैन।
पशुपति विकास कोषले यो वर्ष शिवरात्रिमा तेह्र लाख भक्तजन आउने अनुमान लगाएको छ।