उमेश यादवको स्विङ र रवीचन्द्रन अश्विन तथा रविन्द्र जडेजाको स्पिनमा अल्झिएको अस्ट्रेलियाले विहिबारदेखि भारतमा सुरु भएको ४ टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्टमा खराब सुरुवात गरेको छ।
पूणेमा सुरु पहिलो टेस्टको पहिलो इनिङअन्तर्गत पहिलो दिनको खेलमा भ्रमणकारी कङ्गारु टोलीले टस जितेर २ सय ५६ रन बनाउने क्रममा ९ विकेट गुमाइसकेको छ।
उमेश यादवले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्ने क्रममा १२ ओभरमा तीन मेडनसहित ३२ रन मात्र खर्चिएर ४ विकेट लिएपछि अस्ट्रेलिया दोस्रो सेसनदेखि दबाबमा देखिएको हो। उनलाई अफस्पिनर अश्विन र लेगस्पिनर जडेजाले २–२ विकेट लिएर सघाए।
यादवले २०१२ मा पर्थ टेस्टमा अस्ट्रेलियाविरूद्ध ९३ रन खर्चेर ५ विकेट लिएका थिए। उनी आज हयाट्रिकको नजिक पनि थिए। उनले आठौ विकेटको रुपमा स्टिभ ओ’क्याफे र नवौं विकेटको रुपमा नाथन लायनलाई लगातार दुई बलमा आउट गरेका थिए।
यादवले भोजन अगाडिको पहिलो सेसनमा अस्ट्रेलियाको प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई बोल्ड गरेपछि कप्तान स्टिभन स्मिथ र युवा ओपनर म्याट रेनशँले टोलीको स्कोर १ विकेटको क्षतिमा ८४ सम्म पर्याएका थिए। टेस्टमा वार्नरलाई उनले ५ पल्ट आफ्नो शिकार बनाएका हुन्। उनले साउन मार्सलाई पनि यति नै पल्ट आउट गरेका हुन्।
स्मिथलाई अश्विनले आफ्नो कप्तान द्धारा क्याच आउट गराएपछि अस्ट्रेलियाको विकेट पतनको सिलसिला सुरु भएको थियो। अस्ट्रेलियाले दोस्रो सेसनमा ६२ रन जोड्ने क्रममा थप ३ विकेट गुमायो। जसमा स्मिथसँगै साउन मार्स र हयान्डसकम थिए।
अस्ट्रेलियाले १ सय १४ रनमा ६ विकेट गुमाएको थियो। भ्रमणकारी टोलीका लागि रेनशँले सर्वाधिक ६८ रन बनाए। उनी भारतमा युवा खेलाडीको रुपमा अर्धसतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बने। उनले २० वर्ष ३ सय ३२ दिनमा भारतीय भूमिमा अर्धसतक बनाएका हुन्। २७ वर्षअघि २२ वर्ष १ सय ५८ दिनमा कानपुर टेस्टमा रिक डार्लिङले अर्धसतक पुरा गरेका थिए। रेनशँ टिमको स्कोर ८२ हुँदा रिटायर्ड भएका थिए। उनको पेटमा समस्या देखिएको थियो। तर, पुनः मैदानमा फर्किएका युवा ओपनरले कलिलो उमेरमा भारतमा अर्धसतक बनाउने भ्रमणकारी ब्याटसम्यानको कीर्तिमान बनाए।
पुछारमा मिचेल स्टार्कले ५७ रन बनाए। उनी अविजित छन्। उनले नवौं विकेटका लागि जोस हेजलउडसँग मिलेर ५१ रनको अविजित साझेदारी गरेका छन्।