छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ।
जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो। ‘रनिङ शिल्ड’ सँगै विद्यालयले ५५ हजार ५ सय ५५ रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
तीनवटा निर्वाचन क्षेत्रमा भएका क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आएका एक हजार ३३८ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै बहिरा विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । उक्त विद्यालयले युवा तथा खेलकुद मन्त्रालयबाट ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सलगायत १५ विधामा भएको प्रतियोगितामा ११२ अङ्कका साथ कालिका कन्या माध्यमिक विद्यालय दोस्रो र बलेवा नारायणस्थानको जनताधन माध्यमिक विद्यालयले ९५ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेको समितिका सदस्य सचिव भीमसेन शाक्यले जानकारी दिए।
दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले अब पश्चिमाञ्चल क्षेत्रीयस्तरको छनोट खेलमा सहभागिता जनाउने छन् । एकल विधामा पहिलो हुने खेलाडीले सोझै क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीले कुल २२२ पदकको लागि प्रतिस्पर्धा गरेका थिए । रासस