ब्राजिलियन स्ट्राइकर गार्बियल जेससको आगमनसँगै आफ्नो भविष्य संकटमा महसुस गरेका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले दोस्रो हाफको २३ मिनेट भित्र २ गोल गरेपछि म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा बुधबार बिहान मोनाकोलाई ५–३ गोलले पराजित गरेको छ।
कोलम्बियन स्ट्राइकर फाल्काओले फ्रेन्च क्लबका लागि २ गोल गरेर ६१ मिनेटमा भ्रमणकारी टोलीलाई ३–२ ले अगाडि राखेको अवस्थालाई उल्टाउदै अगुइरोले प्रशिक्षक पेप ग्वार्डिओलाका लागि ऐतिहासिक प्रदर्शन गरे।
उनले पछिल्लो सात खेलमा गोल नगरेको अवस्थामा दोस्रो हाफको ५८ र ७१ मिनेटमा गोल गरे। यसअघि रहिम स्टेरलिङको गोलमा म्यानचेस्टर सिटीले आफ्नो घरेलु मैदानमा २६ मिनेटमा पहिलो गोल गरेका थिए। तर, म्यानचेस्टर युनाइटेडबाट क्रृण सम्झौतामा दुई वर्षअघि खेलेका फाल्काओले ३२ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
३५ मिनेटमा फ्रेन्च टोलीको डिबक्सभित्र बल प्रवेश गराइसकेका अगुइरोलाई नाटक गरेको आरोपमा पहेँलो कार्ड दिएपछि केही मिनेट खेलमा तनाव उत्पन्न भएको थियो। उनलाई ‘वान भर्सेस वान’ को अवस्थामा मोनाकोका गोलरक्षक सुवासिकले डिबक्स भित्र लडाएका थिए। तर, करिब ५४ हजार दर्शक उपस्थित इतिहाद रंगशालामा रेफ्रि एन्टोनियो मिगुलले उल्टै अगुइरोलाई पहेँलो कार्ड दिएका थिए।
रेफ्रिको यो निर्णयको विरूद्ध प्रशिक्षक ग्वार्डिओलाले असन्तुष्टी प्रकट गरे। भ्रमणकारी मोनाकोका लागि क्यालियन माबापेले ४० मिनेटमा अर्को गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २–१ ले पछाडि पर्न पुग्यो।
अझ, ६१ मिनेटमा फाल्काओले दोस्रो गोल गरेपछि मोनाकोले स्पष्ट ३–१ को अग्रता बनाएको थियो। यसअघि ५० मिनेटमा पाएको पेनाल्टीको अवसरलाई फाल्काओले खेर फ्याकेका थिए। उनको पेनाल्टी सिटीका गोलरक्षक काबालेरोले समातेका थिए।
निकै नाटकीय यस खेलमा अर्जेन्टिनी स्ट्राइकर अगुइरोले २३ मिनेट भित्र दुई गोल गरेपछि सिटी पुनः खेलमा फर्किएको थियो। ३–३ गोलको अवस्थामा ५ मिनेट भित्र जोन स्टोन्स र लेरोए सानेले थप दुई गोल गरेपछि सिटीले खेल आफ्नो पक्षमा पार्यो।
स्टोन्सले ७७ र उत्कृष्ट प्रदर्शन गरेका सानेले ८२ मिनेटमा गोल गरेका थिए। सिटीले सन् २०१३ पछि प्रतिद्वन्दी क्लबविरूद्ध च्याम्पियन्स लिगमा ५ गोलको अन्तरले पराजित गरेको हो। यसअघि सिएसके मस्कोलाई सिटीले ५–२ ले पराजित गरेको थियो।