सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइनुपर्ने औँल्याएका छन्।
सूचना विभागको आव २०७२/७३ को वार्षिक समीक्षा तथा वार्षिक प्रतिवेदन–२०७३ सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन विभागलाई प्रविधिमैत्री बनाउन जरुरी भएको बताए।
हालको विभागको कार्यलाई क्रमशः गाउँपालिकास्तरसम्म पुर्याई जनतालाई सूचनाको हकको सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै विभागलाई सूचनाको केन्द्रका रुपमा विकास गर्न लागिएको जानकारी दिए।
सञ्चारमन्त्री कार्कीले हुलाक सेवा विभागलाई प्रभावकारी बनाउन रेडियोको दर्ता, लाइसेन्स, फ्रिक्वेन्सी वितरण र नवीकरणको जिम्मा जिल्ला हुलाकलाई दिइने तयारी भइरहेको बताए।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विभागलाई नेपाल सरकारबाट भएका निर्णयको एकै ठाउँबाट सबैलाई सूचना प्राप्त हुनेगरी सूचना केन्द्रका रुपमा स्थापना गर्न लागिएको जानकारी दिए।
“विभिन्न मन्त्रालयले विभिन्न नीतिगत काम गरिरहेका हुन्छन्, नयाँ पुस्तिका निकालेका हुन्छन् ती कुरा मन्त्रालयबाट वितरण हुन्छ, सबै सूचना विभागबाटै वितरण गर्न सकियो भने सरोकारवालालाई सहज हुन्छ” उनले भने।
विभागका महानिर्देशक वीरबहादुर राईले विभागको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताए। नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले विभागको सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाई एकीकृत ढङ्गले सेवा प्रवाह गर्न जरुरी भएको धारणा राखे।
सूचना व्यवस्थापन र पत्रिका अभिलेखीकरणलाई चुनौतीका रुपमा लिँदै विभागले सरकारका विभिन्न निकायमा छरिएर रहेका सूचनालाई एकीकृत रुपमा सङ्कलन, प्रशोधन तथा सम्प्रेषण, सूचनालाई कम्युटराइज्ड गरी सूचना वितरण गर्न लागेको जनाएको छ ।
विभागको वार्षिक प्रतिवेदनानुसार आव २०७२/७३ सम्म जम्मा सात हजार ३६९ पत्रपत्रिका दर्ता भएका छन् । दर्ता भएका कुल पत्रिकामध्ये दैनिक ६७६, साप्ताहिक दुई हजार आठ सय तीन र मासिक दुई हजार २१४ छन् । विकास क्षेत्रगत रुपमा सबैभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रमा पाँच हजार छ सय ३८ र सबैभन्दा कम सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा दुई सय ४० पत्रिका दर्ता भएका छन् ।
विभागले आव २०७२/७३ मा पत्रपत्रिका स्थायी दर्ता सिफारिस एक सय र अस्थायी दर्ता तथा नाम सिफारिस चार सय ९३ गरेको छ । उक्त आवमा स्वदेशी ९नयाँ जारी दुई हजार तीन सय १९, स्वदेशी नवीकरण दुई हजार चार सय ८० तथा विदेशी (नयाँ र नवीकरण) ३७ पत्रकार परिचयपत्र वितरण भएको बताइएको छ । रासस