२०७२ वैशाख १२ को भुइँचालोले बनेपा–बर्दिवास सडक (बिपी राजमार्ग)का ११ मोडमा धक्का दिएकाले ती ठाउँमा नयाँ बाटो बनाउनु पर्ने देखिएको छ।
भूकम्पपछि नेपाली र जापानिज् प्राविधिकको टोलीले खुर्कोटदेखि सिन्धुलीसम्म ११ ठाउँ ठूलो धक्काले सडक कमजोर बनाएको भन्दै ती ठाउँमा नयाँ सडक बनाउनु पर्ने निष्कर्ष निकालेको हो। ‘यसका लागि जापानी सहयोग नियोग (जाइका)मार्फत् जापान सरकारसँग रकम पनि माग गरिएको छ’, बनेपा–बर्दिबास सडक आयोजनाका प्रमुख भरतकाजी देवजूले भने, ‘अरु साना साना धक्का लागेका ठाउँ पनि छन्। बजेट आउनासाथ हामी ती ठाउँमा बैकल्पिक बाटो बनाउँछौं।’
उनले आइतबार राति सिन्धुलीको शित्तलपाटी– ९ मा सडक भासिनुमा पनि भुइँचालोको धक्का कारण हुन सक्ने बताए। ‘हामीले विस्तृत अध्ययन गरिसकेका त छैनौं’, देवजूले भने, ‘प्रारम्भिक आँकलनमा भूकम्पको धक्काले कमजोर भएको सडक भासिएको देखिन्छ।’
उनले सडक भासिएको ठाउँमा बैकल्पिक ट्रयाक मंगलबार बिहानदेखि नै सुचारु भएपनि त्यो बाटोमा बढी भार भएका सवारी चलाउन रोक लगाइने बताए। ‘साना सवारी चलाउन भनेर ट्रयाक खोलिएको हो’, देवजूले भने, ‘१४ सिटभन्दा बढी क्षमताका ठूला बस पनि चलाएको पाइएको छ, अब त्यस्ता सवारी चलाउन रोक लगाउँछौं।’
जापान सरकारको करिब २० अर्ब अनुदान सहयोगमा निर्माण भएको बिपी राजमार्गमा धेरै घुम्ति छन्। र ती घुम्ती पहाड काटेर नभई पर्खाल लगाएर बनाइएका भएकाले भुइँचालोको धक्काले कमजोर भएको देवजूले बताए।
जापान सरकारले नै मर्मत सम्भार गर्दै आएको राजमार्गको भासिएको भागको बनाउन पनि जापान सरकारले नै सहयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देवजूले बताए। ‘पहिला पनि उहाँहरुले नै डिजाइन गर्नु भएको हो’, उनले भने ‘नयाँ बनाउन पनि डिजाइन उहाँहरुले नै गर्नुपर्छ।’ उनले यस विषयमा जापानिज्हरुसँग कुरा भइसकेको र केही दिनमा विस्तृत अध्ययन गरी नयाँ बाटो बनाउन सुरु गरिने जानकारी दिए।