यहाँका चार प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
जिल्ला शिक्षा कार्यालय जुम्लाले ‘भर्ना अभियान र यसको औचित्य’ कार्यपत्र सार्वजनिकीकरण कार्यक्रममा सोमबार यो तथ्याङ्क सार्वजनिक गरेको हो।
कार्यपत्र प्रस्तुत गर्दै शाखा अधिकृत महेश देवकोटाले प्राथमिक तहमा तीनदेखि चार प्रतिशत बालबालिका अहिले पनि विद्यालय पहुँच बाहिर रहेको जानकारी दिए। सरदर आठ प्रतिशत बालबालिकाले बीचैमा विद्यालय छोड्ने गरेको शाखा अधिकृत देवकोटाले बताए।
“विद्यालय–शिक्षक अनुपात प्रावि तहमा सामान्यतः सन्तोष देखिए पनि निमावि र मावि तहमा न्यून देखिन्छ र सिकाइ उपलब्धि पनि प्राथमिक तहमा ५० को हाराहारीमा मात्र छ,” उनले भने।
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले अपाङ्ग, विपन्न, गरिब, सीमान्तकृत र जोखिममा रहेका बालबालिका विद्यालयको पहुँच बाहिर रहेको बताए।
जिशिअ फडेराले भने, “यो वर्ष विद्यालय जाने उमेरका सबै बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर नरहुन् भन्ने उद्देश्यले ‘सुरक्षित र समावेशी शैक्षिक संस्था हाम्रो नारा, भर्ना अभियानमा जुटौं सारा’ भन्ने मूलमन्त्रलाई अँगालेर भर्ना अभियान सफल पार्न एसएमएससहित सबै क्रियाकलाप गरेका छौँ ।” अशिक्षा, गरिबी, भौगोलिक विकटता, मौसमी बसाइँसराइ र सरोकारवाला सबैको उदासिनताका कारण बालबालिका भर्ना हुन नसकेको उनको भनाइ छ ।
यो समस्या समाधानका लागि आगामी वर्षदेखि जिशिका जुम्लाले अभिभावक शिक्षा कार्यक्रम, अतिविपन्न एवम् सीमान्तकृत बालबालिकाका अभिभावकलाई शिक्षा र आयआर्जनका क्रियाकलाप सँगसँगै अघि बढाउने तथा भर्ना अभियानका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउने रणनीतिक क्रियाकलाप प्रभावकारी बनाउनुपर्ने औँल्याएको छ ।
भर्ना अभियानको उद्देश्य बालबालिका विद्यालयमा झिकाउन मात्र नभई “विद्यालयमा पूरै टिकाउन, राम्रोसँग सिकाउन र प्राप्त ज्ञानले विश्व बजारमा बिकाउन” समेतमा व्यापक बनाउन जरुरी रहेको जिशिकाले जनाएको छ ।
हाल जुम्लामा ९२ प्रावि, ३१ निमावि, ३३ मावि, १५ उच्च मावि, १९६ बालविकास केन्द्र, २३ सामुदायिक अध्ययन केन्द्र, चार विशेष शिक्षा स्रोत कक्षा, एक स्नातक, एक स्नातकोत्तर, एक प्राविधिक शिक्षालय र २३ वटा संस्थागत विद्यालय रहेका छन् ।
शैक्षिक सत्र २०७३÷०७४ मा यहाँका सामुदायिक विद्यालयमा पूर्व प्राथमिकदेखि उच्च माविसम्म जम्मा ३९ हजार अध्ययनरत विद्यार्थीमा १९ हजार ८४३ छात्राको सङ्ख्या रहेको जनाइएको छ। रासस