सत्तारूढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ।
बेलुका ७ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा दुबैले आ-आफ्नो अडान नछोडेपछि वार्ता निष्कर्षबिहिन बनेको हो।
संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठकमा मधेसी मोर्चाका नेताहरूले आफ्नो अडान अझै पनि पहिले संशोधन अनि मात्र निर्वाचन रहेको बताएछि वार्ता निष्कर्षबिहिन भएको हो।
बैठकमा प्रधानमन्त्रीले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेताहरुलाई जानकारी गराएका थिए। प्रधानमन्त्री मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी दिए। फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेताहरुलाई प्रचण्डले आग्रह गरेका थिए।
मोर्चाका नेताहरुले मोर्चाको मूख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुंगोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए।
‘सहमती केही भएन तपाईहरू जे गर्नुहुन्छ हामी पनि सोही अनुसार अघि बढ्छौ,’ बैठकबाट बाहिरिएपछि सेतोपाटीसँग कुरा गर्दै सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने,‘ आजको बैठकबाट केही निर्णय पनि भएन र सहमति पनि भएन।
जहिले पनि सरकारले आश्वासन मात्र दिने तर व्यवहारमा नदेखिने भएकाले पहिले रिजल्ट अनि मात्र सहमति भन्ने हाम्रो अडान कायमै रहेको उनले बताए।
‘उनीहरूले त सबै कुरा दिन्छौ र मान्छौ भन्छन् तर व्यवहारमा केही देखिन्न,’ उनले भने,‘ अब बाटो खुला भयो तपाईहरूलेको जस्तो व्यवहार गर्नुहुन्छ हामी त्यसरी नै तयारी हुन्छौ, मधेसको लागि जे गर्नुपर्छ हामी गर्छौ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए।
सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले त्यसबारे छलफल गर्न मोर्चा नेताहरुलाई बोलाए पनि केही कुरामा टुंगोमा नपुगेपछि भोलिको तयारी व्यर्थै हुने देखिएको छ। थप गृहकार्य गरेर अगाडि बढ्ने सरकारी तयारी छ।
यसअघि शनिबार पनि प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुसँग चुनावको मिति र संविधान संशोधनबारे छलफल गरेका थिए। सो छलफलमा मोर्चाका नेताहरुले संविधान संशोधन नभई निर्वाचनको मिति तोकिए आफूहरु आन्दोलनमा जाने बताएका थिए।
आइतबार बिहान प्रमुख प्रधानमन्त्री र सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग भएको छलफलमा सरकारले सोमबारको मन्त्रिपरिषद्बाट चुनावको मिति तोक्ने सहमति भएको थियो।